१२ श्रावण २०८१, शनिबार 1722087383
Banner

कामपाले सामादायिक विद्यालयले भाडामा दिएका ६१ सटरमा ताला लगायो

काठमाडौँ, २७ जेठ : काठमाडौँ महानगरपालिकाले चारवटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ सटरमा ताला लगाएको छ । कामपा शिक्षा विभाग, प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले आज विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा लगाइएका सटर तथा टहरामा ताला लगाएको हो ।

यसरी ताला लगाइएका सटरहरुमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयका १७, बागबजारस्थित सहिद शुक्र माविका २२, विजय स्मारक मावि डिल्लीबजारका आठ र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरमा ताला लगाएर चाबी प्रधानाध्यापकलाई बुझाइएको दाहालले बताउनुभयो । यसैगरी व्यवसायीलाई आफ्ना सामान लैजान सात दिनको समय दिइएको छ । “कामपाभित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ ।

यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन्”, दाहालले भन्नुभयो, “विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ । विद्यालयले माग गरेकोभन्दा धेरै कार्यक्रम पठाएको छ ।” महानगर प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेलले विद्यालयले स्थान अभाव देखाउँदै शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको गुनासो गरिरहे पनि आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा नगरेको बताउनुभयो । पोखरेल भन्नुहुन्छ, “विद्यालयमा विज्ञान र कम्प्युटर ल्याब बनाउनुपर्ने छ । पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउनुपर्ने आवश्यकता छ । त्यसैले भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालनका लागि उपयोग गर्छौँँ ।”