२३ भाद्र २०८१, आइतबार 1725781839
Banner

भविष्यका लागि हाम्रो दृष्टिकोणः सुशासन सहितको परिपूर्ण लोकतन्त्र

“परिपूर्ण लोकतान्त्रिक शासन प्रणालीले व्यवसायीलाई स्वतन्त्र रूपमा इमानमा बसेर आफ्नो व्यवसायमा लगानी र सञ्चालन गर्न प्रोत्साहित गर्छ भने पुँजीवादी लोकतान्त्रिक शासन प्रणालीले स्वछन्द रूपमा व्यवसायीलाई आफ्नो व्यवसाय गर्ने छुट दिन्छ।”

व्यवसाय गर्नु भनेको कमाउनु हो। व्यवसायमा लगानी गर्नु भनेको जोखिम उठाउनु हो। कमाउनु र जोखिम उठाउनु भनेको इमान छोड्नु होइन्। मतलब व्यवसाय गर्नु भनेको इमानमा बसेर कमाउनु हो। त्यसैगरी राजनीति गर्नु भनेको वैचारिक धरातलमा टेकेर नीति र कार्यक्रमका आधारमा आवधिक रूपमा जनादेश प्राप्त गरिरहनु हो। हाम्रो परिवेशमा जसरी पनि कमाउने र चुनाव जित्ने सोच र अभ्यास हावी हुँदा न व्यवसायमा इमान देखियो न त राजनीतिमा विचार, नीति र कार्यक्रमले नै प्राथमिकता पाउन सकेको अवस्था छ। सबैलाई थाहा छ, व्यवसायमा लगानी नाफासँग जोडिएको हुन्छ भने राजनीति राजनीतिक विचार र जनताको सेवासँग जोडिएको हुन्छ।

समाजमा विभेद र असमानता बढ्नुको एउटा मुख्य कारण सामाजिक(आर्थिक असमानता नै हो। सामाजिक(आर्थिक रूपमा कमजोर समाजले प्रगतिशील चेतना र लोकतान्त्रिक चरित्रको विकासमा यथोचित रूपमा लगानी गर्न सक्दैन्। अनि यसले समाजमा द्वन्द्वको स्थिति कायम गरिरहन्छ र समन्वयपूर्ण सहकार्यको वातावरण बन्दैन्। हामीले बुझ्नुपर्छ, द्वन्द्व सधैं शान्ति र दिगो प्रगतिको बाधक हुन्छ किनभने प्रगति सम्पन्नताको सूचक पनि हो। तर यति बेला हाम्रा बोली, व्यवहार र लगानी वैमनश्यता बढाउने र समाजलाई नकारात्मक बाटोमा हिंडाउँने उद्देश्यबाट निर्देशित भइरहेको छ। हामीमा मानवीय संवेदना, सभ्य संस्कार र व्यवहार हराइरहेको छ।

आफ्नो स्वार्थ पूरा गर्न र आफूलाई अब्बल देखाउन जस्तोसुकैहरू गरिरहेका छौं। अरूको क्षतिमा आफ्नो प्रगति खोज्ने सोच र चिन्तन हामीमा विकास भइरहेको छ अनि हामीले त्यस्तै व्यवहार पनि गरिरहेको छौं। यसको पछिल्लो उदाहरण काठमाडौं महागरपालिकाका मेयर बालेन साहका बोली र गतिविधिहरूलाई लिन सकिन्छ। बालेनले आफ्ना कमजोरी लुकाउन सडक विभाग अगाडि फोहोर खसालेर चर्चा कमाउन खोजे। जबकि यस्ता गतिविधिहरू कुनै सभ्य समाजमा सुहाउने कुरो होइन तैपनि हामी त्यसमा नै रमाउन खोजिरहेका छौं। यसले परिपूर्ण लोकतान्त्रिक प्रणालीलाई व्यावहारिक रूपमा संस्थागत गर्ने बाटोमा अबरोध सिर्जना गरिरहेको छ।

अरूको क्षतिमा आफ्नो प्रगति र सम्पन्नता खोज्नु पुँजीवादी शासन प्रणालीमा विश्वास गर्ने पुँजीवादीहरूको चरित्र हो। जबकि परिपूर्ण लोकतन्त्रवादीको चरित्रले आफ्नो प्रगति र सम्पन्नतामा अरूको सन्तुष्टी र आशिर्वाद पनि खोजेको हुन्छ। जनताले राजनीतिको यो अन्तर नबुझ्दा र सही राजनीतिक धार चिन्न र चुन्न नसक्दा नेपालमा राजनैतिक र संवैधानिक अस्थिरता चाहने बाह्य शक्तिलाई आफ्नो हस्तक्षेप बढाउन सहज भइरहेको छ।

त्यसैले यति बेला हामीले लोकतन्त्रमा प्रगतिशील नीति र अभ्यास अनि वामपन्थमा लोकतान्त्रिक चरित्र र अभ्यास समावेश गरेर हाम्रो राजनीतिलाई परिपूर्ण लोकतन्त्रको बाटोमा हिंडाउनु पर्छ। तब मात्रै लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र विश्वास पनि बढ्छ। यति सामान्य पक्ष न राजनीतिक नेतृत्वले बुझेर बुझाउन सकेका छन् न त प्राज्ञिक नेतृत्वले खराब भाष्यको विपक्षमा उभिन सकेका छन्। यस मुद्दालाई लिएर राजनीतिक विश्लेषकहरू किन बोलिरहेका छैनन्रु सञ्चार माध्यमहरूले स्वतन्त्र र निष्पक्ष भएर गतिविधिहरू गर्न किन सकेनन्रु उत्तर खोज्नु पर्ने भएको छ।

आज बहसको मुख्य मुद्दा लोकतान्त्रिक गणतन्त्र कसरी जनमुखी बनाउने अनि शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणाली कस्तो बनाउने हुनुपर्थ्यो। राज्य संयन्त्रहरू सुशासनमुखी कसरी बनाउने हुनुपर्थ्यो। हिजो समीक्षा गर्दै भोलिका लागि आज के गर्ने भन्ने बन्नुपर्थ्यो। तर हामीभने अनपेक्षित रूपमा प्राथमिकता एकातिर गतिविधिहरू अर्कातिर गरिरहेका छौं। हाम्रो यो कमजोरी र देशको आवश्यकतालाई बुझेर उही बेलामा जननेता मदन भण्डारीले लोकतन्त्रमा प्रगतिशील नीति र वामपन्थमा लोकतान्त्रिक चरित्र समावेश गरेर जनताको बहुदलीय जनवाद (जबज) प्रस्ताव गर्नु भएको थियो। त्यसैले आज हामीले जबजको बाटोबाट अघि बढ्ने सङ्कल्प गरेर अघि बढ्नु पर्ने समय भएको छ।

अहिले हामी प्रथमिकता एकातिर गतिविधि अर्कातिर गरिरहेका छौं। जसले गर्दा लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउनेहरूलाई सजिलो भइरहेको छ। जबकि हामी शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक संरचनामा संरचनात्मक परिवर्तन गर्ने परिपूर्ण लोकतन्त्रमुखी राजनीतिमा केन्द्रीत भएर भविष्यको योजना बनाउन र त्यसको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्थ्यो। तर गएको तीन दशकमा हाम्रो ध्यान त्यतातिर जान सकेको छैन्। जसका कारणले रवि लामिछाने असल कि कैलाश सिरोहिया खराब या कैलाश सिरोहिया असल कि रवि लामिछाने खराब भन्ने असान्दर्भिक प्रश्नमा विवाद गरिरहेका छौं। हामीले असललाई असल खराबलाई खराब भन्न सक्नुपर्थ्यो।

“हाम्रो जीवनमा गलत बाटो, गलत परिस्थिति र गलत अनुभव पनि जरूरी हुन्छ किनकि यसले नै हामीलाई हाम्रा लागि के सही हो के गलत हो भनेर सिकाउँछ।” त्यसैले हामीले विगतको गलत बाटो, गलत परिस्थिति र गलत अनुभवबाट सिकेर अगाडिको यात्रा अघि बढाउनु पर्छ। यो व्यक्तिगत जीवनमा मात्र होइन, राजनीतिक र राष्ट्रिय जीवनमा पनि लागु हुन्छ।

यति बेला नेतृत्वमा तहमा रहेका र नेतृत्वमा पुग्न खोजेका व्यक्तिहरूले बुझ्नु आवश्यक छ, “नेतृत्व भनेको अरूका लागि हो।” देशले एक नेताका रूपमा तपाईंले के गर्नुभयो, तपाईंलाई के थाहा थियो, वा तपाईंको प्रशंसा, उपलब्धिहरू र उपलब्धिहरूका लागि सायद सम्झिने छैन् किनभने तपाईंलाई चिन्ने, तपाईंसँग काम गर्ने र तपाईंका लागि काम गर्ने मानिसहरूलाई तपाईंको राजनीतिले कस्तो महसुस गराउनु भयो भनेर देशले सम्झिने छ। नकारात्मक महसुस गराउने नेतालाई एक ढंगले त सकारात्मक महसुस गराउने नेतालाई अर्को ढंगले सम्झिने छ। त्यसैले नेतृत्वले कस्तो नेता बन्ने आफैले आफ्नो बाटो तय गर्नुपर्छ।

हामी जनताले पनि कस्तो राजनीति, राजनीतिक नेतृत्व र शासन व्यवस्था भन्ने मुद्दामा स्पष्ट हुनु अनिवार्य भएको छ अनि राजनीति, राजनीतिक नेतृत्व र शासन व्यवस्थाको चरित्र पनि बुझ्नुपर्छ। राजनीति, राजनीतिक नेतृत्व र शासन व्यवस्थाले जनतामा आशाको भाव जगाउनु पर्छ र भोलिका दिन उज्ज्वल बन्न सक्छ भनेर विश्वास जगाउनु पर्छ। यसका लागि राजनीति परिपूर्ण लोकतन्त्र उन्मुख नै हुनुपर्छ किनभने दक्षिणपन्थी पुँजीवादको चरित्र भनेकै धनी र गरिबबीचको अन्तर बढाउने र दलाल पुँजीवादको संरक्षण गर्ने हो। त्यही चरित्रको प्रतिबिम्ब हिजोआज हाम्रो राजनीतिमा देखिएको छ। जसको नेतृत्व नेपालमा एकातिरबाट नेपाली कांग्रेसले गरिरहेको छ भने अर्कातिरबाट राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न खोजिरहेको छ।

तर यो सत्य उजागर नहोस् भनेर गगनका विरूद्ध रवि र रविका विरूद्ध गगन शैलीको राजनीति र गतिविधिलाई अघि बढाइएको छ। यसमा देशभित्र र बाहिर रहेका बुद्धिजीवी भनिनेहरूलाई प्रयोग गरिदैंछ। बाह्य स्वार्थ र प्रगतिमा आफ्ना क्षमताहरू प्रयोग गरिरहेका एकाथरी बुद्धिजीवीहरू कहिलेकाहीं नेपालमा आएर देश समृद्ध बनाउने उपाय बताउँछन् र अर्ति उपदेश पनि दिन्छन् भने अर्काथरी बुद्धिजीवीहरू नेपाल मै बसेर सदनमा पसेर बाह्य स्वार्थमा काम गरिरहेका छन्।

हाम्रा बुद्धिजीवीहरूको बौद्धिक दरिद्रताको कुनै सीमा रहेन किनभने राष्ट्रको स्वार्थविपरीत हुनेगरी अराजकता र स्वछन्दताको पक्षपोषण मात्र गरिरहेका छैनौं नेपाली भर्सनका जेलेन्स्कीहरूको मनोबल पनि बढाइरहेका छौं। राजनैतिक तथा संवैधानिक व्यवस्था उल्टाउन राजनीति गर्नेहरूको विरोध नगरेर नियन्त्रित अस्थिरता बढाउन सघाइरहेका छौं। जसले परिपूर्ण लोकतन्त्रको बाटोमा अबरोध सिर्जना गरिरहेको छ। त्यस्ता खराब बुद्धिजीवीहरूलाई हामीले चिन्नु र चिनाउनु पर्छ।

देशमा परिपूर्ण लोकतन्त्रमार्फत पद्धिति विकास र पद्धति कार्यान्वयनमार्फत देशको अवस्था बदल्ने कुरामा नागरिकदेखि नेतृत्वसम्मको मनस्थितिले मुख्य भूमिका खेलेको हुन्छ। नागरिकदेखि नेतृत्वको मनस्थितिको कस्तो बनाउने भन्ने कुरा देशको राजनीति अनि शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणालीको चरित्र र अभ्यासले निर्धारण गर्छ किनभने देशमा शान्ति सहितको समृद्धि सुनिश्चित गर्ने मुख्य आधार राजनीति र शासन व्यवस्थाको प्रगतिशील लोकतान्त्रिक चरित्र अनि नागरिक र नेतृत्वको सकारात्मक र रचनात्मक मनस्थिति नै हो। त्यसैले हाम्रो सुरक्षित र प्रगतिपूर्ण दिगो भविष्यका लागि सुशासनसहितको परिपूर्ण लोकतान्त्रिक राजनीति, कूटनीति र नीतिका पक्षमा बुद्धिजीवीहरूको सकारात्मक अर्थात स्वतन्त्र र निष्पक्ष हस्तक्षेप आवश्यक भएको छ।