४ आश्विन २०८१, शुक्रबार 1726885428
Banner

प्रधानमन्त्री प्रचण्डलाई तत्काल राजीनामा दिन एमाले सचिव भट्टराईको आग्रह

काठमाडौं-नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा देखिएको निरन्तरको चरम अस्थिरताले देशले आत्मविश्वास नै गुमाउन थालेपछि कांग्रेस र एमाले मिल्नुपर्ने परिस्थिति बनेको दाबी गर्नुभएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले संविधान जारी भएको ८ वर्षभित्र प्रचण्डले ६ पटकभन्दा बढी यता र उता गर्दै सत्ताको खेलमा लिप्त रहेका कारण उनको स्वभाव बुझ्नै गाह्रो भएको बताउनु भयो ।

सचिव भट्टराईले नेपाली कांग्रेस र एमालेले सरकार बनाउन गरेको सहमतिलाई सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डलाई तत्काल पदबाट राजीनामा दिन आग्रह गरेको गर्नुभयो । उहाँले राम्रो मनसाय राखेर प्रचण्डलाई समर्थन गरे पनि उल्टै अविश्वासको वातावरण सिर्जना भएको बताउनु भयो।

सांसद भट्टराईले विगतदेखि नै देशलाई अप्ठेरो परेका बेला एमाले र कांग्रेस मिलेर निकास दिने गरेको भन्दै यसपटक पनि प्रचण्डको चालबाजी शेरबहादुर देउवा र केपी शर्मा ओली मिलेर असफल बनाएको दाबी गर्नु भयो।

सचिव भट्टराईले अब कांग्रेस र एमालेबीचमा देशको आत्मविश्वास बढाउन र लगानीको वातावरण बनाएर अर्थतन्त्र लयमा फर्काउन बलियो सरकारको सहमति भएको बताउनु भयो । नेपाल सही बाटोमा जाँदैछ भन्ने विश्वास विश्व समुदायलाई दिनका लागि कांग्रेस र एमाले मिल्नुपरेको भट्टराईले बताउनु भयो।

भट्टराईले भन्नुभयो- ‘प्रधानमन्त्री प्रचण्ड स्वभाव नै यस्तो हो कि, बुझ्नै सकिएन। संविधान निर्माणपछि देशलाई स्थितिरमा लैजाने बेला एमालेलाई धोका दिएर कांग्रेसतिर लाग्नुभयो। फेरि कांग्रेस छाडेर एमालेतिर आउनुभयो। २०७९ को निर्वाचनमा एमालेविरुद्ध बनेको गठबन्धन लामै समय जान्छ भनेर हामी प्रतिक्षमा बस्न तयार थियौं। तर, उहाँ चुनावपछि फेरि कांग्रेस छाडेर एमालेतिर आउनुभयो। लामो समय लैजाने भनेरै शक्ति बाँडफाँटको सहमति भएकै थियो। तर प्रधानमन्त्रीले सहमति पालना नगरी फेरि कांग्रेसतिर जानुभयो। अब यो सरकार जाओस् भनेर हामी मिसन ग्रासरुट र मिसन ८४ मा लागेका बेला उहाँले फेरि हाम्रो सहयोग माग्नुभयो । पछिल्लोपटक हामीले साथ दिएर लो प्रोफाइल मन्त्रालय लिएर काम गर्न दिँदा पनि एमालेप्रति नै अविश्वास गर्न थाल्नुभयो । कांग्रेसलाई बोलाएर राष्ट्रिय सरकार बनाऊँ भन्ने प्रस्ताव पनि राख्नुभएछ। राष्ट्रिय सरकारको कुरा नाजायज होइन, तर आजको अवस्थामा राष्ट्रिय सरकारको नेतृत्व कसले गर्न सक्छ ? उहाँ नेतृत्वको सरकारले गर्न सक्दैन । हामीलाई यो पनि सूचना प्राप्त भयो कि, राष्ट्रिय सरकार भनेर उहाँले एमालेलाई सरकार बाहिर राख्ने मनसाय व्यक्त गर्नुभयो । हामीलाई सरकार बाहिर बस्न आपत्ति होइन तर उहाँको नियत ठीक नदेखिएकाले ठूला दल मिलेर राष्ट्रिय सहमति बनाउनुपर्ने भयो।’