३ कार्तिक २०८१, शनिबार 1729365814
समाचार

नबिल बैंकको चार दशक : डिजिटल सेवादेखि दिगो बैंकिङमा अग्रसर

काठमाडौं । नेपालमा विदेशी लगानीमा स्थापना भएको निजी क्षेत्रको पहिलो बैंक नबिल ४० वर्ष पुरा गरी ४१ औं वर्षमा प्रवेश गरेको छ । सन् १९८४ (२०४१) असार २८ गते नेपाल अरब बैंकको नामबाट नबिलले बैंकिङ कारोबार सुरु गरेको हो ।

युनाइटेड अरब इमिरेट्स (युएई) को इमिरेट्स बैंक इन्टरनेसनलको संयुक्त लगानीमा ४० वर्षअघि नेपाल अरब बैंकको स्थापना भएको हो । ४१ औं वर्षमा प्रवेश गर्दा नबिल अहिले मुलुकको अग्रणी वाणिज्य बैंक बन्न सफल भएको छ । नबिल बैंक नभएको भए नेपालको बैंकिङ क्षेत्रले यति छिटो फड्को मार्ने थिएन होला । निजी क्षेत्रको मात्र नभई संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) को पहिलो निजी बैंक नबिल बन्न पुगेको छ ।

चार दशकमा नबिलले बिजनेसको हिस्सामात्र बढाएन, बैंकिङ क्षेत्रमै नयाँ–नयाँ प्रविधि भित्र्याएर परम्परागत प्रणालीको विस्थापनसमेत गरेको छ ।

यसरी भयो स्थापना

आर्थिक वर्ष २०४१–०४२ को बजेटले निजी क्षेत्र तथा विदेशीलाई बैंक खोल्न दिने नीति लिएपछि नेपाल अरब बैंक स्थापना भएको थियो । विदेशी लगानीको अरब बैंकलाई भित्र्याएर उक्त आर्थिक वर्षदेखि पञ्चायती सरकारले आर्थिक उदारिकरणको उद्घोष गरेको हो । त्यसबेला उदारिकरणको नेतृत्व तत्कालिन अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सुरु गरेका थिए ।

नबिल सुरु हुनुभन्दा अगाडि नेपालमा सरकारी स्वमित्वका बैंकहरु मात्र थिए । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक मात्र सञ्चालनमा थिए । उनीहरुको बजारमा एकाधिकार र परम्परागत ढर्रामा सरकारी बैंक चलेका थिए । सरकारी बैंकबाट ग्राहकले नविनतम् बैंकिङ सेवा पाएका थिएनन् ।

यसक्रममा पछिल्लो समयमा नबिलले आफूलाई प्रविधिमैत्री बनाउँदै गएको देखिन्छ । बैंक स्थापना गर्दा सुरुको लगानी ३ करोड रुपैयाँ थियो । अहिले बैंकको चुक्ता पुँजी बढेर २७ अर्ब रुपैयाँ बढी छ ।

सेयरधनीलाई साढे ४२ अर्ब लाभांश

गत आर्थिक वर्षसम्म बैंकले सेयरधनीहरुलाई ४२ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ लाभांश दिएको छ । जसअनुसार २२ अर्ब ३१ करोड रुपैयाँ बोनस सेयर र २० अर्ब रुपैयाँ नगद लाभांश दिएको बैंकले जनाएको छ । नबिल धेरै लाभांश दिने वाणिज्य बैंक पनि हो ।

यस्तै चालू आर्थिक वर्ष तेस्रो त्रैमासमा आइपुग्दा नबिल बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ रुपैयाँ खुद नाफा गरेको छ । बैंकको जगेडा कोषको आकार बढेर २७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा नबिलले ४ खर्ब ४० अर्ब ४३ लाख रुपैयाँ निक्षेप परिचालन गरी ३ खर्ब ६८ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २३.२४ रुपैयाँ र नेटवर्थ २ सय ८ रुपैयाँ छ ।

४० औं वार्षिकोत्सवका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले दीगो बैंकिङ योजनामार्फत कार्बन उत्सर्जन कम गर्ने, हरित प्रविधिमा लगानी गरी समाजिक–आर्थिक विकास प्रवद्र्धन गर्ने परियोजनाहरु अघि बढाएको बताएका छन् । उनले नवप्रवर्तन र प्रविधि सेवामा विशेष ध्यान दिएको बताएका छन् ।

कम्प्युटरबाट डिजिटल बैंकिङ सेवा

नबिलले पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ, एटिएम, मोबाइल, मास्टर कार्ड, डेबिट कार्ड, कन्ट्याक्टलेस कार्ड, नियो बैंकिङ सेवा सुरु गरेको छ । नबिलले स्थापनादेखि नै डिजिटल बैंकिङ सेवालाई विशेष प्राथमिकता दिएर सेवा सञ्चालन गरिरहेको छ । नबिलले सञ्चालनमा ल्याएको एनबैंकमार्फत ६० भन्दा बढी सेवा मोबाइलबाट उपलब्ध गराइरहेको जानकारी दिएको छ ।

त्यसैगरी देशभरिका शाखा विस्तार भई २ सय ६८ पुगेको छ । यस्तै २२ स्टेन्सन काउन्टर र ३ सय १६ एटिएम मेसिनबाट २२ लाख ग्राहकलाई सेवा दिइरहेको बैंकले जनाएको छ ।

नबिल बैंक सञ्चालनमा आउनु अघिसम्म सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक परम्परागत प्रणालीबाट ग्राहकहरुलाई सेवा दिँदै आएको थियो । इमिरेट्स बैंकमा आधुनिक बैंकिङ गरिरहेका केही दक्ष कर्मचारी ल्याएर नेपालका केही युवालाई आधुनिक कम्प्युटराइज बैंकिङ तालिम दिई नेपालमा आधुनिक बैंकिङ अभ्यास गरिएको थियो । सरकारी बैंकमा टोकन लिएर लामो समय लाइनमा उभिनुपर्ने बाध्यता रहेको थियो । नबिल बैंकले सेवा सहज बनाउन ‘युनिट टेलर सिस्टम’ पनि सुरु गरेको थियो । जहाँबाट पाँचवटा काम एकै ठाउँबाट गर्न थालेपछि ग्राहकको आकर्षण बढ्दै गएको थियो ।

नबिलले विस्तारै कार्यशैलीमा पनि क्रमिक सुधार गर्दै आएको थियो । ढडडमा हिसाब राख्दै आएको नेपालको परम्परागत बैंकिङ सिस्टमलाई नेपालमै पहिलोपटक कम्प्युटरमार्फत कारोबार गर्ने नबिल पहिलो बैंक भएको छ । यस्तै नबिल बैंकले आफूलाई प्रविधिमा उन्नत (एडभान्स) बनाउँदै अहिले ‘डिजी बैंक’ सुरु गरिसकेको छ । ग्राहकले चाहेअनुसार सम्पूर्ण सेवा लिनसक्नु नै डिजी बैंक हो । नबिलले शाखा धाउनुपर्ने बाध्यता अन्त्य गर्दै रकम झिक्न र राख्नसमेत घरमै बसिबसी मोबाइल, ल्यापटपमार्फत ग्राहक आफैंले गर्न सकेका छन् ।

वातावरण संरक्षणमा योगदान

नबिल बैंकले बढ्दो वातावरण विनाश नियन्त्रणमा जनचेतना फैलाउने उद्देश्यले दिगो बैंकिङ कार्यक्रम सुरुवात भएको छ । बैंकले दिएको ऋणबाट सञ्चालित व्यापार–व्यवसायले वातावरण बिगार्न वा बचाउन सहयोग गरेको छ । बैंकले सकेसम्म वातावरण विगार्ने व्यवसायमा लगानी नगर्ने नीति लिएको छ ।

नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो ।

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्ने उद्धेश्यका साथ नबिल बैंकले नबिल दिगो बैंकिङको सुरुवात गरेको बताइएको छ ।

यसरी भयो अरबबाट नबिल बैंक

२०५३ सालबाट युएईका लगानीकर्ताको सेयरमध्ये नेसनल बैंक बंगलादेशले ५० प्रतिशत खरिद गरेपछि अरब भन्ने नाम हटाएर नबिल बैंक राखिएको थियो । नबिललाई पहिलो नम्बर बनाइराख्न सबैभन्दा पहिलो योगदान कर्मचारीकै छ । बैंकले पनि आफ्ना कर्मचारीलाई राम्रो सेवा सुविधा दिएर काममा प्रोत्साहन गरिरहेको छ ।

राम्रो सेवा सुविधा र राम्रो ब्राण्डका कारण नबिलबाट जागिर छाडेर अन्य बैंकमा जाने क्रम न्यून छ । बैंक स्थापना भएदेखि नै पहिलो प्राथमिकतामै ग्राहक सन्तुष्टि ग्राहकको मन जित्दै अगाडि बढ्न सफल भएकाले पनि पहिलो नम्बरमै भइरहेको हो । अनुभवी र कुशल सञ्चालक तथा व्यवस्थापकको रातदिनको अथक मिहिनेतले पनि बैंकलाई सधैं अगाडि बढाउन सहयोग पुर्याएको छ ।

सिइओ बनाउने बैंक

नबिल नेपालमा धेरै प्रमुख कार्यकारी अधिकृत (सिइओ) उत्पादन गर्ने बैंक भएको छ । अहिलेसम्म अनिल ज्ञवाली, शोभनदेव पन्त, शशिन जोशी, अशोक राणा, सुरेन्द्र भण्डारी, अमृतचरण श्रेष्ठ, भुवन दाहाललगायत विभिन्न वाणिज्य बैंकमा सिइओ भइसकेका छन् । मनोज गोयल र अनिलकेशरी शाह पनि नबिल बैंकका उत्पादन हुन् । मनोज अहिले एनएमबी बैंकका अध्यक्ष छन् भने अनिल सिटिजन्स बैंकको सञ्चालक भएका छन् ।

४० वर्षको अवसरमा ‘द नबिल ढुक्क घर कर्जा’

४० वर्ष पुरा गरेको अवसरमा नबिलले ‘द नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । यो योजनामा सात वर्षको अवधिमा कर्जाको ब्याजदर ८।४ प्रतिशत र १० वर्ष अवधिको कर्जाको ब्याजदर ९.४ प्रतिशत निर्धारण गरिएको बैंकले जनाएको छ । यो योजना जुलाइ १२ देखि ४० दिनसम्म मान्य हुने बैंकले जनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले नयाँ खाता खोल्दा विभिन्न सुविधाको अफर ल्याएको छ । जुलाइ १२ देखि २० सम्म नयाँ खाता खोल्दा एटिएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एनबैंक तथा एनबैंक एफको शुल्कमा ५० प्रतिशत छुट दिएको बैंकले जनाएको छ ।

यसैगरी साना तथा मझौला उद्यममा १ करोड रुपैयाँसम्मको कर्जा आधार दरमा १ प्रतिशत प्रिमियम थपेर उपलब्ध गराइने नबिलले जनाएको छ । यस्तै कृषि तथा उत्पादनमूलक उद्योगमा ५ करोड रुपैयाँसम्मको कर्जा आधार दरमा १.५ प्रतिशत प्रिमिमयमा दिने बैंकले जानकारी दिएको छ ।