४ आश्विन २०८१, शुक्रबार 1726820118
अर्थ

एनआईसी एशिया बैंक २७औं वर्षमा प्रवेश

काठमाडौं-एनआईसी एसिया बैंक २७औँ वर्षमा प्रवेश गरेको छ। सन् १९९८ मा स्थापित बैंकले बैंकिङ सेवाको २६ वर्ष पूरा गरेको हो।  ‘हाम्रो अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २७औँ वर्ष प्रवेश गरेका छौँ’, बैंकले भनेको छ, ‘यस दौरानमा हामीप्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिनुहुने हाम्रा समस्त ग्राहकवर्ग, नियामक निकायहरू, शेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन एवं धन्यवाद व्यक्त गर्न चाहन्छौँ।’ 

नेपालको वित्तीय क्षेत्रमा आजको दिनसम्म आइपुग्दा बैंकले प्राप्त गरेको सफलताको श्रेय एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई दिएको छ। 

‘आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ’, बैंकले भनेको छ, ‘साथै, आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौँ।’

स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालबाट लाखौँ ग्राहकलाई सेवा प्रदान गरेको बैंकले जनाएको छ। 

फलस्वरुप देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकको दाबी छ। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुना कुनामा पुर्‍याउन समेत सफल भएको बैंकले उल्लेख गरेको छ। 

स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत अर्थिक वर्ष २०८०/८१ मा मात्रै २ अर्ब ८९ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाएको पनि बैंकले जनाएको छ।