३ आश्विन २०८१, बिहिबार 1726784571
अर्थ

सिप्रदी ग्रुपले ९ महिनामा साढे १३ अर्ब रुपैयाँ बढीको टाटा गाडी बिक्री

काठमाडौं । सिप्रदी ग्रुपले ९ महिनामा साढे १३ अर्ब रुपैयाँ बढीको टाटा गाडी बिक्री गरेको छ । ग्रुपको सिप्रदी ट्रेडिङ प्रालिले २०२४ को ९ महिनामा टाटा गाडी, म्याक लुब्रिकेन्टस र एक्साइड ब्याट्रको कूल १३ अर्ब ५४ करोड २० लाख रुपैयाँ व्यापार गरेको हो ।

गत वर्ष सिप्रदीले १८ अर्ब ३० करोड ४० लाख रुपैयाँको टाटा गाडी बिक्री गरेको थियो । २०२२ मा २८ अर्ब ९५ करोड ५० लाख, २०२१ मा २५ करोड ४१ लाख ९० हजार रुपैयाँको टाटा गाडी र म्याक लुब्रिकेन्टसको व्यापार गरेको थियो । यस्तै २०२० मा सिप्रदीले १९ अर्ब ७० करोड ५० लाख र २०१९ मा ३१ अर्ब ३ करोड ५० लाख रुपैयाँ गाडी व्यापार गरेको थियो । गत वर्ष २०२३ मा सिप्रदीको बिजनेस ३७ प्रतिशत घटेको जानकारी दिएको छ । कमर्शियल भेहिकलबाट हुने आम्दानी ७० प्रतिशत घटेको छ । समीक्षा अवधिमा प्यासेन्जर भेहिकलको व्यापार ३९ प्रतिशत बढेको छ ।

व्यापारमा आएको संकुचनसँग कम्पनीको अपरेटिङ प्रोफिट मार्जिन आधा घटेर ४.८ प्रतिशतमा सिमित भएको छ । २०२२ मा सिप्रदीको अपरेटिङ प्रोफिट मार्जिन ८ प्रतिशत थियो । कमर्शियल भेहिकल व्यापार घटेका कारण यो वर्षको ९ महिनामा अपरेटिङ प्रोफिट मार्जिन ०.२ प्रतिशत घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

सिप्रदीको गाडी व्यापार घट्दै गएको सार्वजनिक गरिएको वित्तीय विवरणले देखाएको छ । बिजनेस कम भए पनि टाटा गाडीको नेपालमा बलियो उपस्थिती रहको छ । सिप्रदीका अनुसार कमर्शियल भेहिकल सेग्मेन्टमा टाटाको ६५ प्रतिशतसम्म हिस्सा रहेको छ । यस्तै इलेक्ट्रिक गाडीको प्रवेशसँगै पब्लिक भेहिकलले कमर्शियल भेहिकललाई जितेको छ ।

कूल आम्दानीमा कमर्शियल भेहिकलको हिस्सा घटेर ३१ प्रतिशत रहेको छ । यस्तै प्यासेन्जर भेहिकल सेग्मेन्टमा ४८ र ननभेहिकल सेग्मेन्ट (ब्याट्री, वर्कसप र मोबिल) को हिस्सा २१ प्रतिशत रहेको सिप्रदीले जनाएको छ । अहिले नेपाली बजारमा बिवाइडी, एमजी, मारुती सुजुकी र हुन्डाइलगायतको उपस्थितीले अटो बजारलाई प्रतिस्पर्धी बनाएको छ ।

सन् १९७९ मा स्थापना भएको सिप्रदीले नेपालमा भारतको टाटा ब्राण्डका गाडी र मोबिलको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २००० देखि एक्साइड ब्रान्डको ब्याट्री र २००२ देखि म्याक लुब्रिकेन्टस बेच्दै आएको छ । सिप्रदीका अध्यक्ष सिद्धार्थशम्शेर जबरा रहेका छन् । कम्पनीको मुलुकभरी ६४ वटा वितरक केन्द्रहरु रहेका छन् । सिप्रदीले १३ अर्ब ७५ करोड ऋणको रेटिङ गराएको छ ।