काठमाडौं- नेकपा एमालेसँग सम्बन्ध रहेकै आधारमा गत भदौ २४ गते भाटभटेनी सुपरमार्केट र मीनबहादुर गुरुङले अकल्पनीय क्षति ब्यहोरे ।

त्यसदिन नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीका १२ स्टोरमा आन्दोलनकारीका नाममा अराजक समूहले आगो झोसे । उक्त दिन बौद्धस्थित भाटभटेनी जलाउन उत्रिएकामध्ये कम्तीमा ७ जना जलेर मारिए । उनीहरूको आजसम्म पहिचानसमेत हुन सकेको छैन । पहिचान नभएका तीसहित ७६ जना जेन-जी आन्दोलनका कारण मारिएको सरकारको तथ्यांकमा छ ।
भाटभटेनीले अर्बौँको क्षति भोगे पनि गत मंसिर १ गते जेन-जीकै बलमा बनेको अन्तरिम सरकारले गुरुङलाई उत्कृष्ट करदाताका रुपमा सम्मानित गर्यो ।
उत्कृष्ट करदाता भएपछि बोल्ने क्रममा त्यस दिन उनले आफ्नो विरह पनि पोखे । ‘जेन-जी आन्दोलनका क्रममा १२ वटा भाटभटेनी शाखा पूर्ण रूपमा नष्ट भएका छन् । अरु धेरै शाखामा लुटपाट र तोडफोड भयो’, उनले सरकारबाट सम्मान मिलेपछि भनेका थिए, ‘दशैँ, तिहार र छठ नजिकिएकाले धेरै सामान स्टक राखिएको थियो । त्यो समयमा परेको नोक्सानी अत्यन्त गम्भीर थियो ।’
गुरुङले आफूले ठूलो क्षति बेहोरे पनि अघि बढ्ने निर्णय जिम्मेवारीका कारण भएको बताएका थिए। ‘बैंकको लगानी, मसँग जोडिएका हजारौँ कर्मचारी र देशप्रतिको जिम्मेवारीले मलाई अघि बढ्न प्रेरित गर्छ,’ उनले भनेका थिए ।


