३ आश्विन २०८१, बिहिबार 1726732564
अर्थ

मुलुकमा परिवर्तन ल्याउन ऊर्जा क्षेत्रको विकास अपरिहार्य : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा परिवर्तन ल्याउन ऊर्जा क्षेत्रमा आमुल परिवर्तन अपरिहार्य रहेको बताएका छन् । विद्युत् विकास विभागले आज आयोजना गरेको ‘स्वागत तथा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई आर्थिक रुपमा सबल बनाउन ऊर्जा क्षेत्रको विकास आवश्यक रहेको बताए ।

“हामी खाद्यान्नका लागि आत्मनिर्भर हुनुपर्नेछ, त्यसका लागि पर्याप्त सिँचाइ पुर्याउनुपर्ने छ, जनताको प्रतिव्यक्ति आय बढाउनका लागि ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेछ, यो दुवै जिम्मेवारी हाम्रो मन्त्रालयअन्तर्गत रहेको छ, उक्त दुवै आवश्यकतालाई पूरा गर्नेगरी कर्मचारी लाग्नुपर्छ”, मन्त्री खड्काले भने । उनले ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताए ।

मन्त्री खड्काले राजनीतिक अस्थिरताका लागि विकास निर्माणले गति लिन नसकिरहेका बेला दुई ठूला राजनीतिक दलले सरकार बनाएकाले अब अल्झिएर बस्ने छुट राजनीतिक नेतृत्व र कर्मचारीलाई नभएको प्रष्ट पारे। उनले भने, “मुलुक कसैले आएर बनाउने वाला छैन, तपाईं हामीले नै बनाउने हो, यसका लागि कर्मचारी जिम्मेवार भएर काम गर्नुहोस् ।”

ऊर्जामन्त्री खड्काले भय, चिन्ता नराखी छिटोछरितो कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए । “ऊर्जा क्षेत्रको विकासका लागि आवश्यकपर्ने ऐन, कानुन, नीति, नियमावलीले कतै संशोधन गर्नुपर्ने भए मन्त्रालयले पहल गर्छ, तपाईंहरु निर्भिक ढङ्गले यसको विकासका लागि दिनरात नभनी लाग्नुहोस्”, मन्त्री खड्काले भने । युवापुस्तामा देखिएको निरासा चिर्नका लागि कर्मचारी इमान्दारपूर्वक लाग्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री खड्काले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने भनिरहँदा यहाँ उत्पादन बढाउन नसकिने हो कि भन्ने चिन्ता उत्पन्न भएको बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले ऊर्जा क्षेत्रको विकासमा विद्युत् विकास विभागको महत्त्वपूर्ण भूमिका रहेकाले उत्कृष्ट कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए ।

विभागका महानिर्देशक जीवछ मण्डलले विभागले विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन, विकास र प्रवद्र्धनका क्षेत्रमा काम गरिरहेको बताए । उनले १०० मेगावाटभन्दा साना आयोजनाको काम विभागबाट र सोभन्दा ठूला आयोजनालाई मन्त्रालयमा सिफारिस गर्ने गरेको बताए ।