५ आश्विन २०८१, शनिबार 1726908040
राजनीति

राज्य बलियो बनाउनका लागि राजनीतिक स्थायित्व खोज्नुपर्छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रजातन्त्रभित्र समाजवाद र समाजवादभित्र प्रजातन्त्र खोज्ने प्रवृत्ति राजनीतिभित्र जति बलशाली हुन्छ त्यसले राजनीतिलाई त्यति सही बाटोमा लैजाने बताउनुभएको छ । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाली समाज आज जुन प्रकारको चुनौतीबाट गुज्रिएको छ, त्यो नेपाली कांग्रेस र नेकपा ९एमाले०को मात्र सरोकारको विषय नभएको प्रस्ट पार्नुभयो । राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिलेको चुनौती भएको र त्यो सबैको साझा चुनौती भएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो– राज्य र नागरिक जोडिँदा मात्र देश सही दिशामा अघि बढ्न सक्ने उहाँले बताउनुभयो । ‘राज्य र नागरिक बीचको अन्तर सम्बन्ध जब गहिरो हुन्छ तब देश बन्छ, आज नेपाली समाजमा नागरिक र राज्य जोडिन सकेकै छैनन्, जब नागरिक र राज्य जोडिन सक्दैनन्, लोकतन्त्र सफल हुन सक्दैन । 

नेपाली समाजभित्र विद्रोहको चेतले घर गरेकाले जसले विद्रोह र अराजक कुरा गर्दछ त्यसको पछाडि नागरिक लाग्ने गरेका उहाँले बताउनुभयो । यसले समाजलाई सही दिशातर्फ अघि बढाउन नसक्ने धारणा महासचिव पोखरेलले राख्नुभयो ।

नेपालको संसद्भित्र समेत असमानताले घर गरेको उहाँले बताउनुभयो । संसद्मा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर आउनेले आफूलाई ‘क’ वर्गको ठान्ने र समानुपातिक प्रणालीबाट आउनेलाई अर्कै दर्जाको ठान्ने प्रचलन रहेको महासचिव पोखरेलले बताउनुभयो । 

उहाँले भन्नुभयो– संविधानले व्यवस्था गरेको निर्वाचन प्रणाली नै असमान रहेको छ । 

समानुपातिक समावेशितालाई सबै सांसदहरू समान हुन् भन्ने ढाँचामा लैजानु पर्दछ भन्ने मान्यता नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच रहेको उहाँले बताउनुभयो । त्यसमा कसैको असहमति हुनु नपर्ने महासचिव पोखरेलले बताउनुभयो । 

यस विषयमा कुरा गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली माओवादी अध्यक्ष पुष्पकमल दाहालकहाँ जानु भएको भए पनि प्रचण्ड सहमतिमा नआउनुभएको उहाँले सुनाउनुभयो । 

यदि उहाँ पनि सहमतिमा आउनुभएको भए अहिले दुई पार्टी बीच भएको समीकरणमा तेस्रो ठुलो पार्टी पनि मिसिने र देश अर्कै हिसाबले अघि बढ्ने स्थिति आउने महासचिव पोखरेलले बताउनुभयो । 

नेपालको राजनीतिलाई विकास र समृद्धिको बाटोमा लैजान स्थिरता आवश्यक रहेको उहाँले बताउनुभयो । शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बन्दा पनि एक कार्यकाल बराबरको अवधि पूरा गर्ने मौका नपाएको उहाँले बताउनुभयो । कुनै पनि व्यक्तिले आफ्ना नीति तथा कार्यक्रम लागु गर्न कम्तीमा एक कार्यकाल काम गर्नुपर्छ भन्ने मान्यता नेपालको राजनीतिमा स्थापित गर्न नसकिएको महासचिव पोखरेलले प्रस्ट पार्नुभयो । 

निरङ्कुशताका विरुद्ध धेरै राजनीतिक दल मिल्दा पनि मिसन एउटै हुने तर विकास र समृद्धिको लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । 

राज्य बलियो बनाउने हो भने राजनीतिक दल बलिया हुनुपर्ने र राजनीतिक स्थायित्व खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।