काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो विश्वविद्यालयको १५औँ सभामा कुलपति ओलीले देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न आग्रह गर्नुभएको हो। प्रधानमन्त्री ओलीले नेपालको राज्य प्रणालीको जगको इतिहाससँग जोडिएको कर्णाली प्रदेशलाई नवीन जागरण दिने गरी सो विश्वविद्यालयले काम गर्नुपर्नेमा जोड दिँदै सरकारको सम्पूर्ण ध्यान मुलुकमा सकारात्मक रुपान्तरण र विकासमा रहेको स्पष्ट गर्नुभयो।
सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटलगायतका कार्यसूचीसम्बन्धी प्रस्तावमाथिको छलफलसत्रमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईले अध्यक्षता गर्नुभएको थियो। विश्वविद्यालयका उपकुुलपति प्राडा ध्रुवकुुमार गौतमले १३१ शिक्षकको दरबन्दी स्वीकृतिका लागि आग्रह गर्नुभएको थियो।