२८ भदौ २०८३, आइतबार 1789283308
Banner

छानबिन समितिले दिएका प्रतिवेदनबारे समीक्षा गर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिले दिएका प्रतिवेदन तथ्य परक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताउनुभएको छ ।

वायु सेवा सञ्चालक सेवा सङ्घ नेपालद्वारा आज आयोजित हवाई सुरक्षासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कतिको सत्य र तथ्यमा आधारित छन् भन्नेबारे समीक्षा गर्नुपर्ने उल्लेख गर्नुभयो । “छानबिन समिति बन्ने गरेका छन् ।

बनेका छानबिन समिति कतिको सत्यतथ्यमा आधारित छन् त्यसको समीक्षा गर्ने बेला भएको छ”, उहाँले भन्नुभयो, “यदि दिएका प्रतिवेदन तथ्य परक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन त्यसबारे सोच्नुपर्ने बेला आएको छ ।” मन्त्री पाण्डेले आन्तरिक हवाई यात्रुमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताउनुभयो । उहाँले यसबारेमा सरोकारवाला निकाय गम्भीर र सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।