३ आश्विन २०८१, बिहिबार 1726786494
Banner

एमाले पोलिटब्युरो बैठक आजदेखि सुरु हुँदै

काठमाडौं-नेकपा एमालेको पोलिटब्युरो बैठक आजबाट सुरू हुँदैछ। ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे पोलिटब्युरो बैठक बस्ने भएको हो। भदौ १३ गते बिहीबार बसेको एमाले सचिवालय बैठकले पोलिटब्युरो बैठक बोलाउने निर्णय थियो। सो निर्णय अनुसार आजदेखि पोलिटब्युरो बैठक बस्न लागेको हो।

 एमालेको पोलिटब्युरो बैठक भोलि (बुधबार) सम्म चल्नेछ। बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र संगठन विस्तार अभियान समेटिएका छन्।

त्यस्तै बैठकले सदस्यता विस्तार अभिलेखीकरण र नवीकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल हुने जनाएको छ। एमालेले बाँकी रहेका ११ वटा र एउटा विशेष जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिएको छ। एमालेका साढे पाँच लाख सदस्यमध्ये ६० प्रतिशतले मात्रै नवीकरण गरेको जिल्लाहरूले रिपोर्ट दिएका छन्। त्यस्तै एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय यसअघिकै केन्द्रीय कमिटीले निर्णय गरिसकेको छ। आजबाट सुरू हुने पोलिट्ब्युरोले २०८४ सम्मकै ठोस कार्ययोजना बनाउने एमालेले बताएको छ। त्यस्तै बैठकमा सरकारको एक महिने कामको समीक्षा, स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। एमालेमा ९० सदस्यीय पोलिटब्युरो छ।