३ आश्विन २०८१, बिहिबार 1726783316
अर्थ

मिरा बायोटेकले आइपिओ जारी गर्ने, एलिट क्यापिटलसँग सम्झौता

काठमाडौं । दक्षिण कोरियाको बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा नेपालमा औषधी उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजी बढाउने भएको छ ।

पुँजी बढाउन उद्योगले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । पुँजीवृद्धी र आइपिओ निष्काशन प्रक्रिया थाल्न उद्योगले एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सम्झौता गरेको छ ।
सम्झौतापत्रमा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेकका अध्यक्ष डा.विनोद साहबीच हस्ताक्षर गरेका छन्।

दक्षिण कोरियाको इयुबायोलोजिक्स कम्पनी लिमिटेड (इयुबी) सँगको सहकार्यमा मिरा बायोटेकले अत्याधुनिक प्लान्टमार्फत औषधी तथा भ्याक्सिन उत्पादन गरिरहेको छ । मिराको भर्खरै सम्पन्न साधारण सभाले कम्पनीलाई पब्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरिसकेको छ । योसँगै यस कम्पनीले २० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको छ ।

नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सकहरु र फर्मा बैज्ञानिकहरुको पहलमा स्थापित मिरा बायोटेक अन्तर्राष्ट्रियस्तरको क्रोनिक सेगमेन्टका औषधीहरु उत्पादन गर्ने कम्पनी हो । कम्पनीले करिब २ दर्जन ब्राण्डका औषधी उत्पादन गरिरहेको छ । यसबाहेक यसले भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ सुशील पौडेलले जानकारी दिए ।

मिरोको चुत्ता पुँजी ५२ करोड रुपैयाँ छ । पुँजी वृद्धिपछि कम्पनीले आइपिओ निष्काशन गर्ने भएको हो । सोका लागि एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता गरेको हो ।

एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजना अन्तरर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरुलाई समेत पब्लिक कम्पनीमा रुपान्तरण, पुँजी र व्यवसायिक प्रबद्र्धनमा परामर्श सेवा दिँदै आइरहेको छ । मिरा बायोटेकलाई पनि आइपिओ निष्काशन अगाडी पुँजीवृद्धि, ब्राण्डिङ र बजारीकरणका लागि वित्तिय व्यवस्थापकिय कार्यमा समेत परामर्श सेवा प्रदान गर्ने जनाएको छ । यसबाहेक आइपिओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।

भक्तपुरका चागुनारायणमा मिरा बायोटेकको अत्याधुनिक प्लान्ट स्थापना गरिएको छ । यसले औषधि व्यवस्था विभागबाट ३० वटा उत्पादनको बजार लाइसेन्स लिएको छ ।

इयुबीले मीरा बायोटेकलाई विश्व स्वास्थ्य संगठन कुशल उत्पादन प्रक्रिया (डब्लुएचओ जीएमपी) प्लान्ट डिजाइन, उत्पादन, र सो मापदण्डअनुसार प्रमाणीकरणका लागि प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । इयुबी सँगको आबद्धताले गर्दा, मीराले आफ्नो उत्पादनका अधिकांश उपकरणहरु दक्षिण कोरियाबाट खरिद गरेको छ ।
कम्पनीले कोरियन कम्पनीसँग साझोदारीमा अफ्रिकी मुलुकहरुमा औषधी निर्यातको प्रयास गरिरहेको छ । यस कम्पनीमा प्राईभेट इक्विटी संस्था वबजनेस अक्सिजनले समेत ठुलो लगानी गरिसकेको छ ।

हालसम्म नेपालको सेयर बजारमा औषधीजन्य उद्योग एउटा पनि सुचिकृत छैन । दुईवटा फर्मास्यूटिकल्स कम्पनीहरु आइपिओ प्रक्रियामा रहेका छ ।