३ आश्विन २०८१, बिहिबार 1726730133
Banner

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं-नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ। हिजोबाट सुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बिहान ११ बजेबाट सुरू हुने बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्ने जनाएको छ।

कार्ययोजनामाथि राय राख्न नेताहरूलाई ३ मिनेटको समय छुट्याएको छ। त्योभन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा दिन एमालेले भनेको छ।

बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ। मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोनामा आज नेताहरूले आफ्नो धारणा राख्न जनाएको छ।

कार्ययोजनामा सदस्यतादेखि संगठन विस्तारको खाका प्रस्तुत गरिएको छ। संगठित सदस्यको संख्या १० लाख पुर्‍याउने एमालेको लक्ष्य छ। वडामा कुल मतदाताको तीन प्रतिशत र पालिका र जिल्लामा १० प्रतिशत संगठित सदस्य बनाउन सके १० लाखको लक्ष्य पूरा हुने कार्ययोजनामा उल्लेख छ।

त्यस्तै वार्षिक कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन सम्पन्न गर्ने उल्लेख छ। एमालेको ११ वटा भूगोल र एउटा गैरभूगोलतर्फको जिल्ला अधिवेशन हुन बाँकी छ।

जनसंगठनहरूलाई अधिवेशनमार्फत चुस्त र उनीहरूका काम प्रभावकारी तुल्याइनुपर्ने कार्ययोजनामा उल्लेख गरिएको प्रचार विभाग प्रमुख गौतमले बताउनु भयो।

एमालेले तहगत कमिटीमा १० देखि ३३ प्रतिशतसम्म युवा सहभागितालाई सुनिश्चितता गर्ने गरी कार्ययोजना अघि सारेको छ। त्यस्तै पार्टीमा मूल्याङ्कन प्रणालीलाई व्यवस्थित बनाउने एमालेको योजना छ।

एमालेले आगामी आवधिक निर्वाचनमा कसैसँग तालमेल नगर्ने नीतिलाई अघि सार्ने तयारी गरेको छ। मंगलबारको बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेसको एक्लाएक्लै चुनाव लड्ने निर्णयको स्वागत गर्दै एमालेले पनि चुनावअगाडि कसैसँग सहकार्य नगर्ने बताउनु भएको थियो।

स्थानीय तहको उपनिर्वाचन मंसिरमा हुँदैछ। त्यो चुनावमा कसैसँग तालमेल नगर्ने गरी कार्ययोजना बनाउन लागेको हो।