४ आश्विन २०८१, शुक्रबार 1726823954
Banner

रामग्राम विकास कोषले पूर्णता पायो

नवलपरासी : भगवान गौतमबुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीमा अवस्थित रामग्राम स्तूपको चौतर्फी विकासका लागि गठित रामग्राम विकास समिति (कोष)ले पूर्णता पाएको छ । रामग्राम नगरपालिकाका प्रमुख पदेन संयोजक रहेको उक्त कोषमा विभिन्न विधाबाट चयन गरिने अन्य चार विज्ञ सदस्यलाई मनोनयन गरिएसँगै कोषले पूर्णता पाएको हो । स्थानीयवासीले रामग्राम स्तूपसँग सम्बन्धित अन्य स्थानको विकासका लागि रामग्राम विकास कोष बनाउन गरेको माग रामग्राम नगरपालिकाको नगरसभाद्वारा ‘रामग्राम विकास समिति ऐन, २०८०’ पारित गरिएको थियो ।

सो ऐनअनुसार अन्य सदस्यको मनोनयन गरि पूर्णता प्रदान गरिएको नगरप्रमुख धनपत यादवले जानकारी दिनुभयो । उक्त समितिमा कैलाश ठाकुर, नारद यादव, रामप्रसाद पाण्डे र बेचु गौडलाई मनोनयन गरिएको हो । डेढ दशकदेखि स्थानीय सङ्घसंस्थाले माग गरे अनुसार रामग्राम विकास समिति ( कोष)ले पूर्णता पाएको छ । “छिट्टै कार्ययोजना बनाइ काम अगाडि बढाइने छ”, उहाँले भन्नुभयो । चालु आर्थिक वर्ष २०८१÷८२ मा नगरपालिकाले रामग्राम स्तूप क्षेत्रमा अतिआवश्यक काम गर्न रु ४० लाख बजेट विनियोज गरेको छ । दातृ निकायलाई रामग्राम विकास कोष वृद्धिका लागि आह्वान गरि विकासलाई निरन्तरता दिइने नगर प्रमुख यादवले जानकारी दिनुभयो ।