४ आश्विन २०८१, शुक्रबार 1726843025
Banner

वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो

चितवन : जिल्लामा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ । गत असार १५ गतेदेखि हालसम्म सो क्षेत्रफलमा वृक्षरोपण गरिएको हो । जिल्लाका विभिन्न सङ्घ संस्थाले सो क्षेत्रफलमा गत वर्ष बहुवर्षीय र सिजनल बिरुवा रोपेका हुन । डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार सो क्षेत्रफलमा एक लाख ३८ हजार चार सय ८६ बिरुवा रोपिएको छ । त्यसमध्ये ६६ हजार पाँच सय सिजनल बिरुवा हुन भने ७१ हजार नौ सय ८६ बहुवर्षीय बिरुवा रहेका छन् । बहुवर्षीय बिरुवा आर्थिक वर्ष २०७८÷७९ देखि उत्पादित बिरुवा हुन् ।

त्यसमा म्याङगोस्टिङ्ग, वीरेन्द्रफूल, कपुर, धुपी, रानीवेल, श्रीखण्ड, अम्बा, कागती, रक्तचन्दन, निम, तेजपत्ता, राजवृक्ष जस्ता बिरुवा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । पौडेलका अनुसार डिभिजन वन कार्यालयअन्तर्गत सिजनल बिरुवा १६ हजार पाँच सय र जिल्ला वन पैदावार आपूर्ति समितिको बजेटबाट ५० हजार बिरुवा वितरण गरिएको हो । जिल्लामा रहेका १५ संस्थाले ती बिरुवा लगेर वृक्षरोपण गरेका हुन् ।

सामुदायिक वन, कवुलियती वन, सार्वजनिक क्षेत्र, नदी उकास क्षेत्र÷नदी किनार तथा निजी जग्गामा वृक्षरोपण गरिएको उहाँले बताउनुभयो । पौडेलले भन्नुभयो “वृक्षरोपण गरिएको छ, ती बिरुवा कतिको बाँचे भन्ने हेर्न बाँकी छ ।” अघिल्ला आर्थिाक वर्षमा वृक्षरोपण गरेर हेरचाह नगर्दा बिरुवा मर्ने गरेको गुनासो आएसँगै यस वर्ष अनुगमन गरि बिरुवाको हेरचाह नगर्ने सङ्घ संस्थालाई आगामी वर्षमा बिरुवा दिन रोकिने उहाँले बताउनुभयो । कार्यालयले यस वर्ष ३० हजार बहुवर्षीय बिरुवा उत्पादन गरेको उहाँले बताउनुभयो ।