२ मंसिर २०८१, आइतबार 1731863250
Banner

पोखरा महानगरले थाल्यो बजार अनुगमन, म्याद गुज्रेका सामान नष्ट

पोखरा । दसैँ नजिकिएसँगै पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखराका विभिन्न ८ वटा पसलमा अनुगमन गरिएको हो । पोखरा महानगर– २ मा रहेका भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, वडा नम्बर ३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा ८ मा रहेको सहारा ट्रेडिङमा अनुगमन गरिएको गुरुङले जानकारी दिइन् ।

अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्री, सरकारले प्रतिबन्ध लगाएका प्लाष्टिकको माला तथा फूलका गुच्छा जफत गरेको छ । ११ हजार १ सय ७९ रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको उनले बताइन् । प्रतिबन्धित माला र फूलका गुच्छा बेच्नेलाई महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।अनुगमन गरिएका सातवटै पसलका सञ्चालकलाई असोज २१ गते महानगरमा उपस्थित हुन भनिएको छ ।

चाडपर्व धेरै सामाग्रीको खपत हुने भएकाले मूल्यवृद्धि गर्ने र म्याद गुज्रेका सामग्रीहरू समेत बिक्री वितरण हुने आशंकामा बजार अनुगमन थालिएको गुरुङको भनाई छ ।