४ कार्तिक २०८१, आइतबार 1729432129
Banner

लामिछाने संगठित अपराधमा दोषी ठहरिए उनको राजनीति अन्त्य हुने निश्चित

काठमाडौं । दुई वर्षअघि पार्टी दर्ता गरेर संसद्मा २१ सिटसहित राजनीतिमा चर्चा कमाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सो दलका सभापति रवि लामिछानेमाथि कालो बादल मडारिएको छ।

सहकारी ठगी र संगठित अपराधसम्बन्धी अनुसन्धानमा तानिएसँगै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेको आगामी राजनीति यात्रामाथि कालो बादल मडारिने भएको हो ।

शुक्रवार पक्राउ गरी कास्की प्रहरी हिरासतमा राखिएका लामिछानेलाई आइतबार म्याद थपपछि अनुसन्धानको थप प्रक्रिया अघि बढाउने कास्की प्रहरीले जनाएको छ। गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको करोडौं रकम गोरखा मिडियामा ल्याएर त्यहाँबाट अपचलन गरी संगठित अपराधमा संलग्न रहेको आरोप छ।

लामिछानेमाथि संगठित अपराध ठहरिए उनको राजनीति अन्त्य हुने निश्चित छ भने उदाउँदै गरेको नयाँ दल रास्वपाको राजनीतिमासमेत कालो बादलले ढाक्ने राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । उनलाई आइतबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

सहकारी ऐन २०७४ को दफा १२२ मा सहकारी ठगीबारे प्रष्ट उल्लेख गरेको छ भने सोही ऐनको दफा १२४ मा सहकारी ठगीमा हुने सजायसम्बन्धी व्यवस्था छ। उक्त व्यवस्थाअनुसार सहकारी ठगीमा संलग्नलाई ठगिएको रकमअनुसार कम्तीमा १ देखि ४ वर्षसम्म कैद र विगोअनुसार जरिवाना हुने व्यवस्था छ।

यदि, सहकारीको सदस्य नभएको व्यक्तिले ऋण लिएमा त्यो स्वतः ठगी हुने सहकारी ऐनमै उल्लेख छ । लामिछानेको हकमा उक्त ऐन आकर्षण हुने देखिन्छ । त्यस्तै, संगठित अपराध निवारण ऐन २०७० अनुसार ३ वा ३ जनाभन्दा बढी व्यक्ति वा समूह मिलेर गरेको सामूहिक अपराधलाई कानुनले संगठित अपराध मानेको छ।

गोरखा मिडिया नेटवर्कमा सूर्यदर्शनलगायत सिवभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ऋण प्रवाह भएको र उक्त रकम रविसमेतको हस्ताक्षरमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले निष्कर्ष निकाल्दै रवि लामिछाने, छविलाल जोशी र जीबी राईमाथि कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

देशभरका ४० वटा सहकारीबाट ८७ अर्ब रकम अपचलन भएको भन्दै यीबाहेक ५० भन्दा बढी व्यक्तिहरूमाथि समितिले कारबाहीका लागि सिफारिस गरेको थियो । तीमध्ये छवि जोशीसहित दर्जन बढी व्यक्तिहरू पक्राउ परी अनुसन्धानको दायरामा छन् । सहकारी ठगीमा मुख्य प्रतिवादी मानिएका गितेन्द्रबहादुर राई (जीबी) लामो समयदेखि फरार छन्।

संसदीय विशेष छानबिन समितिको प्रमाणसहित प्रहरीले रविमाथि संगठित अपराधमा मुद्दा चलाउने तयारी गरेको छ । यदि, लामिछाने संगठित अपराधमा दोषी ठहर भए पार्टी सभापति र सांसद पद गुम्ने छ भने चुनाव कहिल्यै लड्न नपाउने गरी राजनीतिक बन्देज लाग्ने कानुनका विज्ञहरूले बताएका छन्।

सहकारीबाट तत्काल अपचलनमा देखिएको गोरखा मिडिया नेटवर्कको ६५ करोड ५४ लाखसहित ८७ अर्ब रकम फिर्ता हुने विषयमा सरकारको तर्फबाट समेत खासै केही हुन सकेको छैन । रकम ठगी गर्नेहरूलाई कारबाही गर्ने र धमाधम थुन्ने मात्रै गर्दा बचतकर्ताले रकम फिर्ता पाउने सम्भावना झनै क्षीण हुँदै जाने सहकारी सञ्चालक तथा सम्बन्धित विज्ञहरूले टिप्पणी गरेका छन्।

लामिछाने पक्राउपछि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति एवं एमाले सांसद सूर्यबहादुर थापाले सडकमा नाटक मञ्चन भएको टिप्पणी गर्नुभएको छ । थापाले सामाजिक सञ्जालमार्फत् लेख्नुभएको छ – ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ – ‘प्रतिशोध !’सुपरफ्लप हुने बाटो– प्रतिक्षा गरौँ ।’