७ कार्तिक २०८१, बुधबार 1729708423
Banner

राष्ट्रपतिसँग विपक्षी दलको गुनासोः सरकारले संविधानको मर्म विपरित काम गर्न लाग्यो

काठमाडौं । प्रतिपक्षी दलहरुले सरकारको कामकारवाहीबारे राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन्। बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेर उनीहरुले सरकार प्रतिपक्षी दल फुटाउने उद्धेश्यसहित दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा रहेको, भ्रष्टाचारीहरुलाई बचाउन लागि परेकोलगायतबारे ध्यानाकर्षण गराएका थिए।

भेटमा प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिन आफूहरू आएको बताउँदै लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनीहरूले संविधानको मर्म विपरित र बहुलवादमा आधारित मर्म विपरितका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

‘उहाँहरूले संविधानको मर्म विपरित र बहुलवादमा आधारित मर्म विपरितका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो,’ प्रेस सल्लाहकार पोखरेले भने,‘राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रर्वद्धनप्रति प्रतिवद्ध रहेको बताए। विधानले आफूलाई दिएको कर्तब्य र सिमा अनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो।’

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठनबन्धन गर्दै केपी शर्मा ओली प्रधानमन्त्री बनेको एक सय दिन पुगेकै दिन विपक्षी दलले राष्ट्रपति पौडेललाई भेटेका हुन् । यसअघि मंगलबार विपक्षी दलहरूले सरकारलाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।

सो असरमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रर्वद्धनप्रति प्रतिववद्ध रहेको बताउदै संविधानले आफूलाई दिएको कर्तब्य र सिमा अनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गरे। उनले भने, ‘संविधान मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कतब्र्य र सिमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईहरूलाई विश्वास दिलाउन चाहन्छु।’

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चा भइरहेका बेला विपक्षी दलले राष्ट्रपति पौडेललाई भेट्नु अर्थपूर्ण मानिएको छ। यद्यपि कांग्रेसको असन्तुष्टिपछि अध्यादेश ल्याउने कुरा प्रधानमन्त्री ओलीले तत्कालका लागि रोकेको बताइन्छ।

टोलीमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहाल र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागि थिए।