पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई न्यायालयको मात्रै विश्वास भएको बताएका छन् । बिहीबार कास्की जिल्ला अदालतमा म्याद थपको बहसका क्रममा उनले सहकारी संस्थाको बचत हिनामिनाको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले आफूविरुद्ध राजनीतिक प्रतिशोध साँधेको बताए । थापाले राजनीतिक प्रतिशोध साँधेको जिकिर गर्दै भनेका छन्, ‘अब न्यायालयको मात्रै विश्वास छ ।’ उनले आफूलाई छोडिदिन न्यायाधीश पौडेलसँग अनुनय गरे । ‘तपाईंले मलाई छोडिदिनुभयो भने मैले राम्रो काम गरेर देखाउँछु र तपाईंले भविष्यमा मलाई हेरेर गर्व गर्न पाउनुहुनेछ,’ रविले अदालतमा भनेको भनाइ उद्धृत गर्दै अधिवक्ता युवराज पराजुलीले भने ।
एमाले सांसद समेत रहेका थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनलाई लामिछानेले ‘सुनियोजित कथा’ को रुपमा अर्थ लगाए । थापाले सुनियोजित रुपमा लेखिएको कथाको छायांकन अहिले भइरहेको पनि दाबी लामिछानेको छ । ‘सूर्य थापा सुनियोजित कथाका रचनाकार हुन्, एकदमै सुनियोजित हिसाबले लेखिएको कथा हो । अहिले त्यही छायाकंन हुँदैहुँदै मध्यान्तरसम्म आइपुगेको छ,’ इजलासमा रविले भनेका छन्, ‘उहाँले जहा–जहाँ जानुपर्छ, अनुसन्धान हुनुपर्छ भन्नुभएको थियो, त्यहाँ त्यहाँ लगिएको छ । त्यसैले पनि यो सुनियोजित हो ।’ रविविरुद्धको मुद्दा अदालतमा बुझाउन ९ दिन बाँकी हुँदा पाँच दिन म्याद थप गरिएको छ । रविको संलग्नता देखिएको भन्दै पक्राउ पुर्जी जारी भएका पाँचै जिल्लामा बयान सकाएर बिहीबार अदालत उपस्थित गराएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मानव अधिकारको रक्षा र स्वास्थ्यको ख्याल राख्न पनि आदेश गरेको छ । काठमाडौं, चितवन र पर्सामा बयान गराउँदै अड्डासार गर्दा लामिछानेको मानव अधिकार हनन भएको र स्वास्थ्यमा समेत समस्या देखिएको विषय उठ्दै आएको छ । बिहीबार पनि न्यायाधीश पौडेललाई रवि र उनका कानुन व्यवसायीले यसबारे ध्यानाकर्षण गराएका छन् ।
रविले बिहीबार पनि आफूमाथि अमानवीय व्यवहार गरिएको र स्वास्थ्योपचारमासमेत खेलवाड गरिएको बताए । आफूमाथि अमानवीय व्यवहार हुँदा पनि अदालत साक्षीजस्तो भएर बसेको आरोप रविले बताए । अदालतमाथि यस्तो आरोप लगाएपछि न्यायाधीश पौडेलले उनलाई सचेत गराएका थिए । ‘अदालत साक्षी बनेको छैन, सामान्य नागरिक मानेर छानबिन गर्ने हो । तपाईंले त्यसो भन्न मिल्दैन,’ न्यायाधीश पौडेलले भनेका छन् । काठमाडौं, चितवन, पर्सालगायतका ठाउँबाट पोखरा ल्याउँदा आफू बिरामी परेको र मानवीय व्यवहारसमेत नदेखाएको रविले बताएका थिए । न्यायाधीश पौडेलले कास्की प्रहरी प्रवक्तासमेत रहेका अनुसन्धान अधिकृत वसन्तकुमार शर्मालाई यसबारे सोधेका थिए । हिरासतमा रहेका जुनसुकै व्यक्ति भए पनि मानव अधिकारको रक्षा र स्वास्थ्योपचारको व्यवस्था हुनुपर्ने न्यायाधीश पौडेलको भनाइ थियो । उच्च पदस्थ समातिँदा अस्पताल भर्ना गर्ने कार्यविधिलाई आफू गृहमन्त्री हुँदा संशोधन गरेको जिकीर गर्दै रविले सुविधाकै लागि आफू अस्पताल भर्ना नहुने बताएका थिए । भागेर कहीँ जाने स्थिति नरहेको बताँदै उनले आफू हिरासतमा हुँदा भेटिएको एउटामात्रै प्रमाणको कागज देखाउन पनि चुनौती दिएका छन् ।
पीडित जाहेरवालाका तर्फबाट बहस गर्दै अधिवक्ता युवराज पराजुलीले एकमुष्ट बिगो तोकिँदा कसको कति दायित्व हो भन्ने यकिन नभएको बताएका थिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिलेसम्म करिब झण्डै ६० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै कसको दायित्व कति हो भन्ने यकिन गर्न पराजुलीको आग्रह थियो । हिनामिना भएको रकम खुलाएर प्रतिव्यक्ति बिगो तोकेर समस्या समाधानतर्फ जानेतर्फ अभियोजनकर्ताले सोध्नुपर्ने उनले बताए । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित पूर्व डीआईजी तथा गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीबीसँगै जोडिएकी लिला पछाईलाई अदालतमा उपस्थित गराइएको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ । अन्य पाँच जिल्लाका सहकारीमा पनि रवि संग्लन रहेको भन्दै पक्राउ पुर्जी जारी भएको थियो । ती सबै जिल्लामा उनको बयान पनि भइसकेको छ । रविलाई बुधबारमात्र रविलाई पर्सा हुँदै काठमाडौंबाट पोखरा ल्याइएको थियो ।
मुद्दा अदालत लाने तयारी
अब ५ दिनपछि अदालत उपस्थित गराउँदा अभियोजनसमेत दर्ता गराउने तयारी भइरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीको सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गराउने तयारी भएको उनको भनाइ छ । सहकारी ठगी प्रकरणमा पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडिया प्रालिका पूर्वउपाध्यक्ष छविलाल जोशीलाई गत असोज ६ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको थियो । त्यही सहकारी ठगी प्रकरणमै कात्तिक २ गते पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइएको थियो । एउटै मुद्दा भएकाले त्यसमै मिलान गरी रविसहितलाई हिरासतमा राखेर अनुसन्धान थालिएको थियो । सहकारी ठगीमा पक्राउ परेका व्यक्तिलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ भने संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ ।
छविलाल पक्राउ परेको ८१ दिन पुगिसकेकाले अबको ९ दिनभित्र अदालतमा मुद्दा पेश गर्नुपर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ । संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको छ । ती सबै ठाउँमा रविको बयान गराइएको छ । सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको समितिको प्रतिवेदनले देखाएको छ । समितिले गोर्खा मिडियामार्फत रकम अपचलन भएको भन्दै जीबी, रवि, छवि र कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसमध्ये जीबी फरारै छन् भने रवि र छविमाथि अनुसन्धान भइरहेको छ । झण्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल भने पुर्पक्षका लागि कास्की कारागारमै थुनामा छन् ।