५ भदौ २०८३, शुक्रबार 1787304950
Banner

राजनीति नागरिक सेवा हो, व्यापार होइन : मन्त्री शाह

कर्णाली : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले राजनीति व्यापार नभई नागरिक सेवा भएको बताएका छन्। अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडिसी) कर्णाली प्रदेश सुर्खेतद्वारा आयोजित फिजियोथेरापी सामग्री तथा उपकरण हस्तान्तरण कार्यक्रममा कार्यक्रममा बोल्दै मन्त्री शाहले सेवा भावबाट राजनीति हुन नसके त्यो व्यापारमा परिणत हुने बताएका हुन्। मन्त्री शाहले भने, “राजनीतिमा मानवता पनि हुनुपर्छ मानवतामा नैतिकता र सेवा भाव लुकेको हुन्छ। अहिले समाजमा मानवता ओझेल परेको छ तर हराएको छैन।”अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्र, मानव सेवा आश्रमलगायतका समाज कल्याणका क्षेत्रमा काम गर्ने संस्थाले मानवीयतालाई उत्थान गरेको उनको भनाई थियो।

अपाङ्गतालाई ख्याल गरेर प्रथमतः हरेक सरकारी संरचना अपाङ्गतामैत्री हुनुपर्नेमा जोड दिँदै उनले कर्णालीमा दीगो परियोजना लागु र कार्यान्वयन हुन सकेमात्र यहाँको समृद्धि र विकास हुने उनको भनाई थियो। उक्त कार्यक्रममा केन्द्रका संयोजक नित्रबहादुर देउजाले अपाङ्ग बाल अस्पताल कर्णाली प्रदेशमा विसं २०७९ असोज २ गते स्थापना भएदेखि अहिलेसम्म एक हजार दुई ४५ जना बालबालिकालाई शल्यक्रिया गरिएको जानकारी दिए। केन्द्रका अनुसार कर्णालीमा उपचारात्मक अवस्थाका अँझै दश हजारभन्दा बढी बालबालिका छन्। अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले अहिलेसम्म देशैभरि एक लाख २१ हजार एक सय ९१ बालबालिकाको उपचार गरेको जनाएको छ।