काठमाडौँ । नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । एमालेको चितवनमा भएको महाधिवेशनमा ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर अध्यक्षको उम्मेदवार बनेको आफूलाई विभेद गरेको रावलले बताए । पार्टीको महाधिवेशनका क्रममा चितवनमा आफूमाथि भएको कार्यको स्मरण गर्दै बुधबारको पत्रकार सम्मेलनमा उनले पार्टीकै केटाहरूलाई लगाएर आफू बसेको होटलमा नाराबाजी गर्न लगाइएको समेत बताए । उनले भने, ‘म आफ्नै व्यवस्थाले बसेको होटल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइयो । मेरो आग्रहमा सशस्त्र प्रहरीको टोलीले त्यहाँबाट धपायो ।’
यस्तै ओलीले महाधिवेशनको बेला चितवनमा वरियतामा तल भएका ४ जनालाई विशेष होटलमा बस्ने व्यवस्था गरेपनि आफूलाई सामान्य एउटा कोठामात्रै उपलब्ध गराएको बताए । ‘महाधिवेशनमा एकलौटी थियो । मलाई सहयोग मात्रै होइन मंसिर ११ गते ९२०७८०देखि महाधिवेशनको बैठकमा समेत सकभर छिर्न नदिनु भनेर स्वयम् सेवकलाई दिइएको निर्देशन यो जबजको धज्जी उठाउने कुकर्म थियो ।’ उनले ओली प्रवृत्तिको विरोध गर्नुपर्ने भन्दै आफूले गलत प्रवृत्तिको आलोचना गरेकै कारण पार्टीबाटै निकालिएको बताए ।