काठमाडौं । नेपालमा राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३ रहेका छन् । बुधबार राष्ट्रिय तथ्यांक कार्यालयले काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या देशभर १ लाख ४२ हजार २२३ रहेको जनाएको हो ।
आर्थिक वर्ष २०७९/०८० भित्र तथ्यांक कार्यालयले गरेको सर्वेक्षणमा आवास तथा भोजन सेवा प्रदान गर्ने होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३ रहेको जानकारी दिएको छ ।
उक्त संख्यामा रहेका होटल तथा रेष्टुरेण्ट सञ्चालकहरुको संख्या ३ लाख ८७ हजार ७४७ रहेको तथ्यांक कार्यालयले जनाएको छ । सार्वजनिक तथ्यांकअनुसार देशभरका १ लाख ४२ हजार २२३ वटा होटल तथा रेष्टुरेण्टमा काम गर्नेहरुको संख्या एक लाख ६ हजार ४५९ रहेको छ । यस अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुले कार्यरत तलवी कामदारहरुको लागि तलव ज्याला र सुविधामा करिव २० अर्ब ६१ करोड ५० लाख खर्च हुने गरेको तथ्यांकले देखाएको छ ।
सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टहरुको करिव २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य लागत गरी करिव ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ ।
होटल तथा रेष्टुरेण्टले नेपालको अर्थतन्त्रमा करिव १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेको छ । देशभर सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टको करिव ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पती रहेको तथ्यांकले देखाएको छ । पत्रकार सम्मेलनमा तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले तथ्यांक संकलनमा सकेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरु पूरा ग्रेको बताए । गणकहरुलाई दिने सेवा सुविधाहरुमा कमी रहेको उनले बताए ।
उनले भने, ‘तथ्यांक संकलनमा जानेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरु पूरा गर्दछौँ । नियतले जाने बुझेसम्म गलत गर्दैनौँ । तैपनि गणकहरुलाई दिने सेवा सुविधाहरु साह्रो कमजोर छ । सिमित पारिश्रमीकमा गणकहरुलाई खटाएका छौँ । फिल्डमा गएर काम गर्न धेरै नै गाह्रो छ ।’ होटल तथा रेष्टुरेण्टमध्ये करिव २८.४ प्रतिशतले वित्तीय संस्थाहरुसँग ऋण लिएको देखिएको र ७१.६ प्रतिशत प्रतिष्ठानहरुको ऋण नभएको/नलिएको देखिएको उनले बताए ।