काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठक ऐतिहासिक र दूरगामी महत्त्व राख्ने किसिमको बन्न पुगेको बताएका छन् । ‘मैले हिजो बिहान भनेजस्तै यो एकताको बैठक र श्रमिकका निम्ति विजयको बैठक बनेको छ । विजय यान्त्रिक रूपमा भनेको होइन, वैचारिक रूपमा, सांगठनिक र सांस्कृतिक रूपमा पनि वर्गसम्म फर्कने र उनीहरूलाई सँगै लिएर हिँड्ने सवालमा यो महत्त्वपूर्ण छ’, मंगलबारको केन्द्रीय समिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै उनले भने । उनले बैठकमा सक्रियरुपमा सहभागिताका लागि सबैलाई धन्यवाद दिँदै पार्टीलाई वाम विचारधारातिर फर्काउन बैठक सफल भएको पनि बताए ।