काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र नेतृत्वमाथि चौतर्फी हमला भएपनि पार्टी निरन्तर अघि बढ्ने बताएका छन् । मंगलबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘एमाले र यसको नेतृत्वमाथि आन्तरिक र बाह्य चौतर्फी हमला भइरहेको छ । हामी त्यसलाई परास्त गर्दै निरन्तर अगाडि बढी नै रहनेछौँ’, ओलीको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘डाह गर्नेहरू अनेक लाञ्छना लगाएर एमालेलाई कमजोर बनाउन लागिरहेका छन् ।’ उनले आपराधिक कुरा गरेर, जनतालाई भ्रममा पार्ने षड्यन्त्र र आक्रमणका विरुद्ध पार्टीपंक्ति एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए ।