१७ असार २०८३, बुधबार 1782919788
Banner

माघ महिनाभित्र घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिन्छौँ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निगमले डिजेल, पेट्रोल र ग्यास बाहेक समय सान्दर्भिक व्यापार सुरु गर्नुपर्ने बताएका छन् । नेपाल आयल निगमको ५५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले तेलमात्र बेचेर नाफा कमाउन सकिन्छ भन्ने बुझाइ परिवर्तन गर्न आवश्यक रहेको बताए । ‘तेलमात्रै बेचेर मुनाफा लिने क्रम धेरै दिन छैन । संस्थाको कार्य क्षेत्र अरू पनि छ भन्ने बुझ्नु पर्छ ,’उनले भने,’ ‘पछिल्लो समय निगमको व्यापार घट्दो रूपमा छ । नयाँ प्रविधिजन्य व्यवसाय नगरे यति मुनाफा कमायौँ । यति बोनस पायौँ भन्नुभन्दा पनि अब के नयाँ व्यापार गर्न सकिन्छ खोजी गर्नुपर्छ ।’

आयल निगम लिमिटेडको वार्षिकोत्सव समारोह काठमाडौँ, २६ पुसः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी शुक्रबार काठमाडौँमा नेपाल आयल निगम लिमिटेडको ५५औँ वार्षिकोत्सव समारोहमा सहभागी हुँदै । तस्बिरः हरिराम भेटुवाल÷रासस

यसैगरी घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिने माघ महिनाभित्र अभ्यासमा लग्ने मन्त्रालयको तयारी भएको बताए । ‘यसअघि व्यावसायिक रूपमा खपत हुने ग्यासमा अनुदान दिँदै आएको थियो,’मन्त्री भण्डारीले भने, ‘यसमा निगमले ११ अर्ब रकम अनुदान दिनुपर्ने थियो । अब घरायसी प्रयोजनमा अनुदान दिँदा ९ अर्ब रकम निगमको खर्च हुने छ ।’ साथै  पेट्रोलमा इथानोल मिसाउने मापदण्ड तयार भइरहेको र  माघ महिनाभित्र कार्यान्वयन गरिने उनको भनाइ छ ।