२७ जेष्ठ २०८३, बुधबार 1781140928
Banner

इजरायल र हमासबीच युद्धविराम सम्झौता

एजेन्सी । इजरायल र हमासबीच युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सहमति भएको छ । १५ महिनादेखि गाजामा जारी युद्ध अन्त्य गर्न दुई पक्ष युद्धविराम सम्झौतामा पुगेका हुन् । इजरायल र हमासबीच कतारमा भएको सम्झौतालाई अन्तिम रूप दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको हमासका एक अधिकारीले जानकारी दिएको बीबीसीको समाचारमा उल्लेख छ । सम्झौताको औपचारिक रूपमा घोषणा भने गरिएको छैन । समझौता आइतबारदेखि लागू हुने समाचारमा उल्लेख छ । 

Smoke rises after the Israeli air strike in the Gaza Strip on Monday, Oct. 9, 2023. Israel’s military battled to drive Hamas fighters out of southern towns and seal its borders Monday as it pounded the Gaza Strip. (AP Photo/Fatima Shbair)

गाजामा हमास र इजरायलबीच ७ अक्टोबर २०२३ देखि युद्ध चलिरहेको थियो । हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो । हमाससँग हाल ९४ इजरायली बन्धक छन् । सम्झौताले लाखौं विस्थापितलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूको रिहाइको सुनिश्चितता गरेको छ ।

हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरी १२ सय बढीको ज्यान लिएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । इजरायलले अझै पनि ९४ जनालाई हमासले बन्धक बनाएको छ जसमध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ । नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म ४६ हजार बढी प्यालेस्टाइनीहरू मारिएका छन्।

सम्झौताअनुसार पहिलो चरणमा हमासले ५० वर्षभन्दा माथिका महिला, बालबालिका र पुरुषसहित ३३ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने छ । स्थायी युद्धविराम र गाजाबाट इजरायली सेनाको फिर्ती सम्झौतामा उल्लेख रहेको बीबीसीले जनाएको छ ।