२५ श्रावण २०८३, सोमबार 1786364249
समाचार

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाबाट भरुवा बन्दुकसहित एक जना मानिसलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी–९ स्थित हरियाली सामुदायिक वनबाट राक्सिराङ गाउँपालिका वडा नम्बर १ गडुवानका ५२ वर्षीय जीत बहादुर थिङलाई पक्राउ गरिएको हो । मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार थिङलाई काँधमा भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले थिङको साथबाट बन्दुक एक थानसहित फलामको विभिन्न साइजको गोलाकार बेरिङ १३ थान, फलामको जस्तो देखिने विभिन्न साइजको लाम्चो आकारको वस्तु ३३ थान, बारुद जस्तो देखिने पाउडर ३०५ ग्राम, ढुंगाको जस्तो देखिने वस्तु २४ थान र १ थान खुकुरी बरामद गरेको प्रवक्ता अर्यालले बताए । थिङलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।