२९ भदौ २०८३, सोमबार 1789418412
समाचार

वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु

जानकी (बाँके) : वन्यजन्तुको आक्रमणबाट यहाँको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीका ६७ वर्षीया चेती बुढाथोकीको ज्यान गएको छ । शम्शेरगञ्ज सबडिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार आज भवती सामुदायिक वनमा दाउरा काट्न जानुभएकी बुढाथोकीलाई वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने अनुमान गरिएको छ ।

“मृतकको टाउको नै नभएको अवस्थामा फेला परेको हुनाले हामीले बाघ वा चितुवामध्ये कुनै एक वन्यजन्तुले मारेको हुनसक्ने आशङ्का गरेका छौँ”, उहाँले भन्नुभयो, “मृतक चेतीलाई वन्यजन्तुले आक्रमण गर्दै गरेको कसैले नदेखेको हुनाले ठ्याक्कै बाघले नै मारेको भन्न सकिँदैन वा चितुवाले नै मारेको भन्न सकिँदैन । यसको फरेन्सिक जाँच भयो भने मात्र हामीले तथ्यका आधारमा भन्न सक्छौँ ।” वरिष्ठ वन अधिकृत शर्माका अनुसार आज दिउँसो ३ बजेको समयमा पूर्वपश्चिम राजमार्गदेखि एक किमी पूर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको शव भेटिएको थियो ।