काठमाडौं । उद्योगीहरुले सिमेन्टको भाउ प्रति बोरा १ सय १५ रुपैयाँ बढाएका छन् । उद्योगीहरुले सिमेन्टको भाउ नबढाएको तर लागतअनुसार मूल्य समायोजन मात्र गरेको दावी गरेका छन् । नेपाल सिमेन्ट उत्पादक संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी प्रति बोरा १ सय १५ रुपैयाँ मूल्य भन्दा बढी नलिन भनेका छन् । उद्योगीले सिमेन्टमा मिलेमतो (कार्टेलिङ) नगरेको जिकिर गरेको छ ।
संघका अध्यक्ष रघुनन्दन मारुले उद्योगहरु सिमेन्टको मूल्य समायोजन गरेको तर मूल्य बढाएको र कार्टेलिङ गरेको कुरा झुठो भएको बताए । उनले सुनचाँदी महासंघले सुनचाँदीको मूल्य, बैंकर्स संघले ब्याजदरलगायत समयअनुसार वस्तुको भाउको मूल्य तय गरेको जस्तै सिमेन्टको मूल्य निर्धारण हुने गरेको जिकिर गरेका छन् ।
उनले उद्योगमा अझै दैनिक १० देखि १२ घण्टा लामो लोडसेडिङका कारण लागत बढ्न गएको जिकिर गरेका छन् । जेनेरेटर चलाउँदा लागत अत्यधिक बढेको उनको भनाई छ । संघ सिमेन्टको भाउ साउनको बिक्री मूल्यमा अधिकतम १ सय १५ रुपैयाँभन्दा बढी नलिन सहमत भएको अध्यक्ष मारुले जानकारी दिए । साउनको बिक्री मूल्यमा प्रति बोरा बढीमा १ सय १५ रुपैयाँभन्दा बढी नलिन सबै उद्योगीहरु सहमत भएको सो अवसरमा जानकारी दिए ।
यस्तै सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले दैनिक १२ घण्टासम्म लामो लोडसेडिङले गर्दा जेनेरेटर चलाउँदा लागत बढेको बताए । उनले लोडसेडिङका कारण उद्योग सञ्चालनका लागि जेनेरेटर चलाउनु पर्दा प्रतियुनिट लागत दोब्बर बढेर १८ रुपैयाँसम्म पुगेको बताए । यस्तै कोइलाको भाउ किलोमा ३ रुपैयाँ बढेर १७ रुपैयाँ पुगेको, चुनढुंगा ढुवानी भाडा २० प्रतिशत बढेको बताए । अध्यक्ष न्यौपानेले साढे ४ सयको सिमेन्ट मूल्य बढाएर ८ सय रुपैयाँ पुगेको समाचार गलत भएको दाबी गरे ।
नेपाल निर्माण व्यवसायी महासंघले उद्योगीले सिमेन्टको भाउ साउनमा प्रति बोरा ४०० रुपैयाँ रहेकामा कार्टेलिङ गरेर अहिले ८०० रुपैयाँभन्दा माथि पुर्याएको भन्दै संसदको सार्वजनिक लेखा समितिमा उजुरी दिएको थियो । लेखा समितिले बुधबार सिमेन्टको मूल्य घटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो ।
अहिले ६५ वटा सिमेन्ट उद्योगहरुमध्ये २२ वटा बन्द भएको संघका उपाध्यक्ष ताराप्रसाद पोखरेलले बताए । विषम परिस्थितिका कारण सिमेन्ट उद्योगहरुले नोक्सानीमा थप अवधि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएकोले ऋणको ब्याज र किस्ता तिर्न न्यूनतम उत्पादन लागतसम्म धान्न सक्ने गरी केही महिनायता आफ्नो उत्पादनको बिक्री मूल्यमा केही वृद्धि गरेको उनले बताए । अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेले ठूला लगानीमा स्थापना भएका उद्योगका अवस्था नाजुक भएको बताए । एउटा सिमेन्ट उद्योग खोल्न ८ देखि १० अर्ब रुपैयाँ लाग्ने र मासिक १० करोड रुपैयाँ प्रशासनिक लगायत अन्य काममा खर्च हुने गरेको सुनाए । उनले पछिल्लो समय सिमेन्ट उद्योग समस्यामा परेको बताए । बोरामा १ सय १५ रुपैयाँ थप भए पनि नपुग्ने उनको भनाई छ ।