२ आश्विन २०८१, बुधबार 1726713667
Banner

उम्मेदवारको खर्च बैंक खाताबाट सञ्चालन गर्नू : निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई बैंकमार्फत् मात्र खर्च गर्न निर्देशन दिएको छ। मंगलबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोलेर मात्र गर्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै त्यसको अनुगमन गर्न सोही अनुसार गराउन निर्देशन दिनुभएको हो। 

उम्मेदवारको खर्च बैक खाताबाट संचालन गर्ने सम्बन्धमा  सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था गरेको छ। आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, द्दण्ठड मा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने व्यवस्था छ।

 उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, यसरी तोकिएका पदाधिकारीको नाम नामेसी सहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक खातामार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नुपर्ने, पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नु पर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिएर उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाई राख्नु पर्ने,  आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्ने, आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नु पर्ने, निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपश्चात सार्वजनिक गरी प्रचलित निर्वाचन सम्बन्धी कानूनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने व्यवस्था रहेको स्मरण आयोगले गराएको छ।