७ जेष्ठ २०८३, बिहिबार 1779411189
Banner

जिबी राईको निर्देशनमा एक जिम्मेवार कर्मचारीको भूमिका निभाएको हुँ: रवि लामिछाने

काठमाडौं : साहारा चितवन बहुउद्देशीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा रास्वपाका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहति १५ जना व्यक्ति र ६ वटा संस्थालाई प्रतिवादी बनाउँदै चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मंगलबार सरकारी वकिल कार्यालयको रायअनुसार लामिछानेसहित छविलाल जोशी , रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरु४ मुद्दा दायर भएको हो ।

साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि, नेचर नेष्ट प्रालि रहेका छन् । उनीहरुविरुद्ध झण्डै ५६ करोड बिगो माग दाबी गरिएको छ । अभियोगपत्रमा लामिछानेले आफ्नो पदीय हैसियतमा श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक काटेको भेटिएको अभियोग पत्रमा उल्लेख छ । यस्तै श्रीमतीआबद्ध गोपिकृष्ण मुभिजको नाममा समेत थप दुई वटा चेक काटिएको उल्लेख गरिएको छ । अभियोगपत्रमा भनिएको छ ‘विपक्ष रवि लामेछाने प्रबन्ध निर्देशक तथा शेयरधनि रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खाताबाट निज रवि लामिछाने समेतको हस्ताक्षरले काटिएको ४ वटा चेक मार्फत निजको श्रीमती निकिता पौडेलको नाममा रु। ५९ लाख ३८ हजार २५१ रुपैयाँ र गोपिकृष्ण मुभिजको नाममा २ वटा चेकमार्फत ८१ लाख २५ हजार रकम भुक्तानी दिएको देखिन्छ’, ।

यता लामिछानेले भने यो कुरा पूर्ण रुपमा अस्वीकार गरेका छन् । उनले आफूले जिबी राईको निर्देशनमा एक जिम्मेवार कर्मचारीको भूमिका निभाएको र वित्तीय कारोबारमा आफ्नो कुनै पनि संलग्नता नरहेको प्रष्ट पारेका छन् । ‘कम्पनी शुरु गर्दा गितेन्द्र बाबु राई र छविलाल जोशी सञ्चालक थिए, उनीहरु बिचको सल्लाह सहमति बारे मलाई जानकारी छैन, तर मलाई १५ प्रतिशत स्वेट शेयर उपलब्ध गराउने कुरा दुबै सञ्चालकहरुको प्रस्ताव हो । गोरखा मिडिया नेटवर्कमा लगानी ल्याउने कुनै पनि कार्यमा मेरो संलग्नता र सहभागिता छैन’ उनले बयानमा भनेका छन् ।

यस्तो छ रविले सरकारी वकिलसमक्ष दिएको बयानको पूर्णअंश

म तत्कालीन समयमा न्युज २४ टि.भि.मा कार्यरत थिएँ । गोरखा मिडिया नेटवर्कका संस्थापक सञ्चालकहरू गितेन्द्र बाबु राई र छविलाल जोशी हुन् । जुन कुरा कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त कागजातहरूबाट स्पष्ट हुन्छ । म कर्मचारी एवं प्रबन्ध निर्देशकका रूपमा आधिकारिक रूपले २०७७।०९।३० मा नियुक्त भएँ । मेरो नियुक्ति पत्र अनुसार मासिक पारिश्रमिक रु.५,००,०००।-, नियुक्तिको किसिम स्थायी, परीक्षणकाल ६ महिना, कार्यक्षेत्र देशभर थियो । मैले पाउने तलब करकट्टा गरी बैंक खाता मार्फत प्राप्त हुन्थ्यो । १५% शेयर मलाई सित्तैमा प्राप्त शेयर थियो । म उक्त संस्थाबाट मिति २०७९।०३।०१ मा सौहार्द्रताका साथ बिदा भएको हुँ । मेरो कार्यकालमा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि. लगायत कुनै पनि सहकारी संस्थाबाट ऋण लिने सम्झौता, सहमति, छलफल एवं बोर्ड निर्णय भएको छैन । कम्पनीमा उनले नै व्यक्तिगत ऋण उपलब्ध गराएका थिए, कम्पनीमा नगद प्रवाहको आवश्यकता पर्दा असुरक्षित कर्जाको नाममा निजले नै कम्पनीमा नगद प्रवाहको व्यवस्था गर्दथे । त्यसैले गर्दा कम्पनीको लेखामा Chairman’s unsecured loan देखिन्थ्यो ।

निज गितेन्द्र बाबु राईले नै चालु पूँजीको व्यवस्था गर्ने हुँदा निजको आवश्यकता अनुसार कम्पनीमा पुँजी आउने र कम्पनीबाट पुँजी जाने प्रक्रिया स्वाभाविक नै थियो । निज गितेन्द्र बाबु राईको निर्देशन विना कुनै पनि चेक तयार भई भुक्तानीका लागी पेस हुन सक्दैनथे । मलाई आकर्षक तलब सुविधा र मेरो विज्ञता र लोकप्रियतालाई पुँजी मानी १५% शेयर विना लगानी उपलब्ध गराउने सम्झौता सहमति गरी ल्याइएको हो । कम्पनी सुरु गर्दा गितेन्द्र बाबु राई र छविलाल जोशी सञ्चालक थिए, उनीहरू बिचको सल्लाह सहमति बारे मलाई जानकारी छैन, तर मलाई १५% स्वेट शेयर उपलब्ध गराउने कुरा दुवै सञ्चालकहरूको प्रस्ताव हो । गोरखा मिडिया नेटवर्कमा लगानी ल्याउने कुनै पनि कार्यमा मेरो संलग्नता र सहभागिता छैन । गितेन्द्र बाबु राई मार्फत उनैले गोरखा मिडियालाई उपलब्ध गराएको भनी आधिकारिक रूपमा लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएको रकम निज गितेन्द्र बाबु राईको निर्देशन एवं कम्पनीले गरेको सम्झौताहरू अनुरूप पदीय दायित्व र जिम्मेवारी पुरा गर्न कम्पनीको नियमावलीको अधीनमा रही काम-कारबाही गरेको हुँ । कम्पनीका चेकहरूमा हस्ताक्षर गर्ने व्यक्तिहरू मध्ये म पनि एक भए पनि कम्पनीको लगानीकर्ता म थिइन ।

मेरो जिम्मेवारी भनेको ग्यालेक्सी फोरके टि.भि.मा प्रशारण हुने सामग्रीमा केन्द्रित थियो । सहकारी वा अन्य कम्पनीहरूसँग मेरो कुनै साइनो थिएन, छैन । एक व्यावसायिक सञ्चारकर्मीका हैसियतले मैले गोरखा मिडिया नेटवर्कको नियमावली तथा कार्यकारी अध्यक्ष गितेन्द्र बाब राईको निर्देशनमा एक जिम्मेवार कर्मचारीको भूमिका निभाएको हुँ । कुनै पनि खाताको सञ्चालक वा हस्ताक्षरकर्ता हुनु भनेको उक्त खाताको आम्दानीको श्रोत बारे जानकार हुनु होइन । त्यतिबेला म कम्पनीमा प्रवेश गरी सकेको थिइन तर प्रतिबद्ध भने भई सकेकाले त्यसैको सुनिश्चितताका लागी मलाई पनि बैंक खातामा संलग्न गराइएको हुनु सक्छ । बैंकबाट आधिकारिक रूपमा प्राप्त विवरण हो भने उक्त चेकमा भएको हस्ताक्षर मेरो हो भनी सनाखत गरि दिएँ ।गोरखा मिडिया नेटवर्क प्रा.लि. एक नयाँ कम्पनी थियो । नयाँ कम्पनीका अधिकांश खर्चहरू.स्थापनाको पहिलो वर्षहरूमा हुने गर्दछन् । मैले अघिल्लो सवालको जवाफमा भने जस्तै भौतिक निर्माण, उपकरण खरिद, विभिन्न व्यक्ति एवं संस्थाहरूसँगको सम्झौता, कर्मचारी भर्ना लगायतका शीर्षकमा सबै भन्दा धेरै खर्च पहिलो वर्षमा नै हुने भएकाले मेरै कार्यकालमा सर्वाधिक चेकहरू जारी भएका हुन् ।

भुक्तानीका लागी जारी भएका चेकहरू विभिन्न व्यक्ति एवं संस्थाहरूसँग गरिएका सहमति, सम्झौता, बोर्ड निर्णय एवं कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईको निर्देशन पालना गरी जारी गरिएका हुन् । के कति संख्यामा चेकहरू जारी भए त्यसको अभिलेख मसँग छैन तर मैले कम्पनीको नियमावली एवं कार्यकारी अध्यक्षको निर्देशन बमोजिम काम कारबाही गरेको हुँ । कुनै पनि कम्पनीको खाताको हस्ताक्षरकर्ता हुनु भनेको कम्पनीको मालिक वा लगानीकर्ता हुनु होइन । म गोरखा मिडिया नेटवर्कको मालिक वा लगानीकर्ता थिइन । म त आफ्नो विज्ञता बापत प्राप्त शेयरको शेयरधनी र कर्मचारी मात्र थिएँ । कम्पनीको कामको सहजताका लागी चेकमा हस्ताक्षरकर्ता मध्ये एक बनेको हुँ । यो एउटा विश्वास हो । कैयौँ अवस्थामा कार्य व्यस्तता बाबजुद कार्य सहजताका लागी खाली चेकहरूमा समेत हस्ताक्षर गरी छाड्ने अभ्यास थियो । यस किसिमको Reasonable Trust विना निजी क्षेत्र चल्न गाह्रो हुन्छ । त्यसैले कम्पनीको सम्पूर्ण वित्तीय कारोबारमा मेरो संलग्नता थिएन, छैन भन्ने समेत व्यहोराको रवि लामिछानेको बयान ।