बुटवल । दाङमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-३ ठुलासम्वामा आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो ।
प्रहरीले भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा मृतक भुवनका दाइ १० वर्षीय बालक र बन्दुक लोड गरी राख्ने ६२ वर्षीय मृतकका बाजे भूपेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले बताए ।
प्रहरी निरीक्षक रोकायका अनुसार घरमा लोड गरी राखेको भरुवा बन्दुक शिशिरले खेलाउने क्रममा आज बिहान पड्किँदा भाइ भुवनलाई गोली लागेको थियो । प्रहरीले घटनास्थलबाट एक थान भरुवा बन्दुक, ४ वटा गोली, ३२८ थान छर्रा समेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


