७ जेष्ठ २०८३, बिहिबार 1779379299
Banner

आज महाशिवरात्री देशभरका शिवालयमा दर्शनार्थीको घुँइचो

काठमाडौं । आज महाशिवरात्रि सनातन धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा आराधना गरि मनाउँदैछन् । पञ्चाङ्गमा बुधबार ८ घडी ४ घडी अर्थात् बिहान ९ बजेर ४७ मिनेटसम्म त्रयोदशी तिथि रहने र त्यसपछि चतुर्दशी लाग्ने उल्लेख छ। महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा आराधना गर्ने परम्पराछ।

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा बुधबार बिहान उज्यालो नुहँदै पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/ रासस

भगवान् शिव भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने देवताका रूपमा परिचित छन्। यस्तै संहारका देवताका रूपमा पनि उनको महिमा छ। भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ।

महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।

पशुपतिनाथको दर्शन गर्न देशका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य संख्यामा श्रद्धालु काठमाडौं आएका छन्।

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा बुधबार बिहान उज्यालो नुहँदै पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/ रासस

भारतबाट आएका साधुसन्त तथा जोगीका लागि पशुपति क्षेत्र विकास कोषले भोजन तथा बासको व्यवस्था मिलाएको छ। कोषले उनीहरूलाई दक्षिणा भेटीसहित विदाइ गर्ने गरेको छ। नेपालका साथै भारतमा समेत धुमधामसँग यो पर्व मनाइन्छ। भारतमा द्वादश ज्योतिर्लिङ्गका साथै साना ठूला शिव मन्दिरमा घुइँचो लाग्छ।