२३ असार २०८३, मंगलबार 1783430740
Banner

महाशिवरात्रीमा देशभरका शिवालयमा दर्शनार्थीको घुईचो (फोटो फिचर)

काठमाडौं । आज महाशिवरात्री पर्व शिवको पुजा आराधना गरी मनाइँदैछ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मनाउन लागिएको हो ।

महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजापाठ गर्ने धार्मिक प्रचलन छ । धार्मिक ग्रन्थ अनुसार आज नै शिवको जन्म भएको हो ।

शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

पशुपतिनाथको दर्शन गर्न मुलुकका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य संख्यामा श्रद्धालु काठमाडौं आएका छन्। भारतबाट आएका साधुसन्त तथा जोगीका लागि पशुपति क्षेत्र विकास कोषले भोजन तथा बासको व्यवस्था मिलाएको छ। कोषले उनीहरूलाई दक्षिणा भेटीसहित विदाइ गर्ने गरेको छ।

तस्बिर : रासस