काठमाडौं । प्रतिष्ठित व्यवसायिक घरनाहरुको लगानी रहेको १ सय ८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजनाबाट आगामी पाँच वर्षमा बिजुली उत्पादन हुने भएको छ । आयोजनाले आउदो २०८६ असारदेखि बिजुली उत्पादन थाल्ने विकासकर्ता कम्पनी कालिगण्डकी गर्ज हाइड्रोपावरका सञ्चालक ज्ञानेन्द्रलाल प्रधानले बताए । उनले अहिले निर्माणपूर्वको काम भइरहेको र सिभिल संरचना निर्माणका लागि छिट्टै बोलपत्र आब्हान हुने जानकारी दिए ।

कालिगण्डकी गर्ज कालिगण्डकी बेसिनमा निर्माण हुन लागेको दोस्रो ठूलो जलविद्युत आयोजना हो । कालिगण्डकी करिडोरमा ४ सय मेगावाटको कालिगण्डकी कोवाङ जलविद्युत आयोजना निर्माण हुने तयारीमा छ ।
कालिगण्डकी गर्ज आयोजनाबाट वार्षिक ९७ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने सञ्चालक प्रधानले जानकारी दिए । वर्खामा ६८ करोड ३० लाख र सुक्खायाममा २९ करोड ३० लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । अर्धजलासय आयोजना छ घण्टा पिकिङ हुने गरी डिजाइन गरिएको छ । विद्युतगृहमा ६० मेगावाट क्षमताका तीनवटा टवाईन जडान गरिने भएको छ । सुरुङको लम्बाइ ५ किलोमिटर रहेको छ भने हेड ५ सय मिटर रहेको छ । आयोजनाले बिजुली बेचेर वार्षिक ७ अर्ब रुपैयाँ आम्दानी गर्ने सञ्चालक प्रधानले सुनाए । आयोजनाबाट १७ प्रतिशत प्रतिफल प्राप्त हुनेछ ।
कम्पनीले आयोजनाका लागि जग्गा खरिद गरिसकेको छ । आयोजना म्याग्दीको बेनीबाट २० किलोमिटर टाढा पर्छ । उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणको म्याग्दीको दाना सबस्टेशनमा जोडिने भएको छ । आयोजनाले १ किलोमिटर लामो प्रसारण लाइन बनाउनुपर्ने भएको छ ।
आयोजनामा व्यवसायिक घरना त्रिवेणी ग्रुप, विशाल ग्रुप र व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले अघि बढाएका हुन् ।
आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाइको २९ अर्ब ६३ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
जसअनुसार लक्ष्मीले बैंकले ९ अर्ब, ग्लोबल आइएमई बैकले ९ अर्ब, सिद्धार्थ बैंकले ५ अर्ब, हिमालयन बैंक र नेपाल एसबिआई बैकले ३ ३ अर्ब र एभरेष्ट बैंकले २ अर्ब ५० करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरेका छन् ।
बाँकी लगानी स्वपुँजी (इक्विटी) संस्थापक लगानीकर्ता त्रिवेणी, विशाल र प्रधान समूहबाट जुटाइने भएको छ । आयोजनामा त्रिवेणी र विशाल ग्रुपको २५ २५, व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको २५ प्रतिशत स्वामित्व हुने गरि लगानी संरचना बनाइएको छ । यस्तै ग्रिनेभेन्चर्स लिमिटेड र अन्य लगानीकर्ताको स्वामित्व हुने भएको छ ।
आयोजनाको अध्यक्षमा सुभासचन्द्र संघाइ, अनुज अग्रवाल र ज्ञानेन्द्रलाल प्रधान सञ्चालक रहेका छन । आयोजना बनाउन ३९ अर्ब ७४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग बिजुली खरिदबिक्री सम्झौता (पिपिए) भइसकेको छ ।
विद्युत प्राधिकरणले अर्धजलाशय आयोजनालाई बेग्लै पीपीए दर निर्धारण गरेको छ । जसअनुसार बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ, पिकिङ अवधिका लागि १०.५५ रुपैयाँ र पिकिङ नहुने अवधिका लागि ८.४० रुपैयाँ पिपिए दर तोकेको छ ।
आयोजनाले प्राधिकरणबाट वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको २०७५ असारमा भएको चीन भ्रमणका क्रममा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एण्ड हाइड्रोपावरका प्रतिनिधिबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । विभिन्न कारण देखाएर चिनियाँ कम्पनी नआउने भएपछि नेपाली लगानीमा आयोजना निर्माण हुन लागेको हो ।
त्रिवेणी र विशाल ग्रुपले ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ । यस्तै ८२ मेगावाट क्षमताको तल्लो सोलु आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पछिलल्लो समय त्रिवेणी र विशाल ग्रुप जलविद्युतमा आक्रामक लगानी विस्तार गर्न लागेका छन् । ग्रुपले सिमेन्ट, खाद्य तेललगायतका उद्योग व्यवसाय सञ्चालन गर्दै आएको छ ।


