३० जेष्ठ २०८३, शनिबार 1781374625
Uncategorized

१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् ।

कांग्रेसका देउवा पक्षले आज जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपसभापति समेत रहेका नेता निधिले कांग्रेसमा पक्ष विपक्षबीच एकता हुन आवश्यक रहेकोमा जोड दिए ।

उनले १५ औं महाधिवेशनका निम्ति विशेष महाधिवेशन पक्षधर र सो अधिवेशनमा भाग नलिएकाहरुबीच एकता हुनुपर्ने उल्लेख गरे ।

पार्टी भित्र गुट उपगुट, पक्ष विपक्ष गर्नुको साटो एकताको माध्यमबाट दुवै पक्ष मिलेर जानुपर्नेमा नेता निधिले जोड दिए ।

नेता निधिले महाधिवेशनका निम्ति क्रियाशील सदस्यता आवश्यक भएता पनि एकतर्फी रुपमा नामावली तयार गर्नु अनुचित रहेको धारणा राखे । उनले विगतमा क्रियाशील सदस्यताको नामावली तयार भइसकेकोले सोही नामावलीलाई नै मान्यता दिनुपर्ने बताए । क्रियाशील सदस्यता नवीकरणको नाममा अहिले पार्टीका एक पक्षले धाँधली गर्ने दुराशयका साथ अद्यावधिक गर्दै हिँडेको गुनासो गरे ।

१५ औं महाधिवेशन सफल पार्नका निम्ति नेता निधिले १४ औं महाधिवेशन र विशेष महाधिवेशनका केन्द्रीय समितिलाई एक बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति र अनुशासन समिति सहमतीको आधारमा गठन गरेर महाधिवेशनको प्रक्रिया अगाडि बढाउनु पर्ने प्रस्ताव राखे ।

नेता निधिले भातृसंगठन, शुभेच्छुक संगठनहरुलाई पुनः गठन गर्नुपर्नेमा जोड दिए । उनले अनावश्यक प्रतिशोधका साथ पार्टी सञ्चालन गर्न नखोज्न कांग्रेसको गगन पक्षलाई चेतावनी दिए ।

राजनीतिक रुपमा कांग्रेसभित्र एकताको आवश्यक रहेको भन्दै नेता निधिले सहमती मै महाधिवेशन सम्पन्न गर्नु नै एक मात्र विकल्प रहेको बताए ।