काठमाडौँ, २८ फागुन (रासस) : कोशी प्रदेश म आफैँसमेत निर्वाचित भएको प्रदेश हो । त्यसकारण यहाँको भूूगोल र यहाँका हिमाल नदीनाला आदिका बारेमा मलाई जानकारी पनि छ । यहाँका जाति जनजातिहरुका बारेमा, यहाँका कला संस्कृतिहरुका बारेमा, जनताका आस्था र विश्वासहरुका बारेमा मलाई जानकारी छ । यो एउटा ऐतिहासिक सभ्यताको सुरुआत भएको, प्राकृतिक हिसाबले अत्यन्त महत्वपूर्ण यस्तो प्रदेश हो, जसमा हामी गौरव गर्न सक्छौँ । हाम्रो भूूगोल, प्रकृति र हाम्रा पुर्खाहरुप्रति हामी गर्व गर्न सक्छौँ । हाम्रो इतिहासप्रति हामी गर्व गर्न सक्छौँ । यसै प्रदेशमा सर्वोच्च शिखर सगरमाथा, विश्वकै तेस्रो हिमशृङ्खला कञ्चनजङ्घा, अर्को मकालु र चोयुु, त्यसैगरी ल्होत्से, ल्होत्सेसार, आठ हजार मिटरभन्दा बढी उचाइका हिमालहरु छन् । हामी कञ्चनजङ्घा भनेर एउटा हिमाल भन्छौँ तर त्यहाँ चार वटा हिमाल आठ हजार मिटरभन्दा माथिका छन् । पूर्व–पश्चिम–उत्तर र दक्षिण नाम गरेका ‘पिक’हरु छन् ।

कोशी प्रदेशको सबैतिर समेट्ने, सबैतिर जोड्ने मुख्य नदी कोशी नदी, काठमाडौँको फुुल्चोकी पहाडबाट आउँदै गर्दा रोशी हुँदै कोशीमा आइपुुग्छ । भक्तपुरबाट काभ्रेपलाञ्चोक जाने बाटोमा साँगा भञ्ज्याङको यतापट्टीको भागबाट पाउने यहीँ नै हो । त्यसैगरेर हामी इन्द्रावतीको कुरा गर्छौं, मेलम्चीको कुरा गर्छौं, याङ्ग्रीको कुरा गर्छौं, अरु नदीहरुको कुरा गर्छौं, ती सबै खोला र नदीको पानी पनि यही कोशी नदीमा बग्छ । वास्तवमा यसको सभ्यताको इतिहास छ । हलेसी, पाथीभराजस्ता तीर्थस्थलहरु, अर्जुनधारा जस्ता तीर्थस्थलहरु जहाँ जनताको आस्था जोडिएको छ, ऐतिहासिकता जोडिएको छ । जहाँ किच्चकवधजस्ता कुराहरु रहेका छन् । यहीँ नजिकै रहेको बर्जुतालको द्वापरयुुगसँग सम्बन्ध रहेको छ । जलथल द्वापरयुुगसँग सम्बन्ध रहेको छ । अर्जुनधारा त्रेतायुुगसँग जोडिएको रहेको छ । हलेसीको सत्ययुुगसँग सम्बन्ध रहेको छ । अथवा सभ्यताको सुरुआतदेखि इतिहास बोकेको र पहिलो ज्ञानको ज्योति छरियो भने यहाँ छरियो । शिवले आफ्ना सप्त शिष्यलाई अगाडि राखेर, शिक्षा दिएर सप्तऋषि अथवा चेला बनाएका थिए । त्यसबेला विद्धान् र प्रोफेसरलाई ऋषि भनिन्थ्यो । आजकाल हामी प्रोफेसर भन्ने गछौँ । त्यसबेला ठूला प्रोफेसर भनेको महर्षि भन्ने हुन्थ्यो । यस क्षेत्रसँग सत्ययुग र त्रेतायुगको सभ्यता गाँसिएको छ । मैले पहिले पनि भनेको थिएँ, विश्वको सबैभन्दा पुरानो ग्रन्थ, अलिखित ग्रन्थ जसलाई द्वापरयुगमा व्यासले लिपिमा परिणत गर्नुभएको थियो । त्यो ग्रन्थ वेद र वेदका मन्त्रको पनि महामन्त्र भनेर चिनिने गायत्री मन्त्र, त्यसको रचना विश्वामित्रले गर्नुभएको थियो, यही कोशी किनारमा । एउटा भ्रम के छ भने विश्वामित्रको अर्को नाम कौशिक थियो र कौशिक ऋषिका नामबाट खोलाको नाम रह्यो भन्ने छ । यहाँ आएपछि कोशीको नाम रह्यो होला, दूधकोशी, तामाकोशी, सुनकोशी, भोटेकोशी लगायतका सबै कोशी कहाँबाट विश्वामित्र अथवा कौशिकका नाममा आए । यहाँ धरानमा बस्ने एउटा विद्धानका नाममा जराजरासम्म कहाँबाट त्यसरी नाम रहन्छ ? त्यस्तो होइन, कोशीको किनारमा बसेर तपस्या गर्ने वमर्षि महाविद्धान् विश्वामित्र ती कोशीपुत्र जस्तै छन्, कोशीका धर्तीपुत्र जस्तै छन् र विद्धान् छन् भनेर कहाँका बासिन्दाको हुन्भन्दा कौशिक हुन् कोशीमा बस्ने भन्ने नामबाट उनको नाम कौशिक राखिएको हो । उनको लगाव कोशी नदीसँग थियो ।
यस्तो कुराहरुमा हामीहरु त्यति भ्रममा पर्नु हुन्न । मैले भन्दै आएको छु, ज्ञानको सुरुआत यहाँ भएको थियो । ध्यान, तन्त्र र योगको सुरुआत यहीँबाट भएको थियो । योग पनि शिवले आफ्ना शिष्य सप्तऋषिहरुलाई सूूर्य दक्षिणायन हुने, सबैभन्दा लामो दिनका दिन शिक्षा दिनुभएको थियो । त्यसकारण त्यस दिनलाई शिक्षा आरम्भ भएको दिन (२१ जुन) भनेर मानिन्छ । २१ जुनलाई सबैभन्दा लामो दिन मानिन्छ । योग आरम्भ भएको, ज्ञान आरम्भ भएको र विश्वमा शिक्षाको प्रारम्भ भएको दिन भनेर त्यस दिनलाई मानिन्छ । त्यो यसै प्रदेशमा पर्छ । भष्मासुरलाई शिवजीले वर दिनुभयो । जसका टाउकामा हात राख्छु, त्यो भष्म होस् भने, यो वर लाग्दैन होला, लाग्छ र भने । भष्मासुरले भने, मैले दिएको वर फरक नै पर्दैन भनेपछि शिवजीकै टाउकोमा हात राख्न ल्यायो लाग्छ कि लाग्दैन हेर्छु भनेर । किनभने सबैभन्दा शक्तिशाली मान्छे सिद्धाइसकेपछि अरु त उसले केही बाँकी राख्ने नै भएन । सबैभन्दा खतरा त उसका लागि शिव नै हुन् । त्यसकारण शिवको टाउकोमा हात राखेर शिवलाई नै भष्म बनाउन पायो, शिव नै भाग्नु पर्यो । यो कथा हलेसीसँग जोडिन्छ । हलेसीमा यताबाट लुक्ने, उताबाट छलिने, यताबाट पस्ने भन्ने कथा त्यहाँ गएर जोडिन्छ र त्यसपछि विष्णु पनि यतैतिरका थिए भन्ने कुरा विष्णुुले आएर छल गरेर भष्मासुरलाई मोहनी रुप धारण गरेर बध गरे भन्ने कथा जोडिन्छ । यी ऐतिहासिक तथ्यहरु, हामीलाई शास्त्रहरुले बताएका कुराहरु अथवा यो भूमि एउटा ऐतिहासिक भूमि हो, पुण्यभूमि हो । एउटा गीतमा पनि छ, शिवले जहाँ सृष्टिको, पहिलो बिहान ल्याएथे, ज्ञानको पहिलो ज्योति ल्याएथे भन्ने । त्यो गीत यिनै कुराहरुसँग आधारित भएर बनेको हो । मैले अघि नै भनें, प्राकृतिक हिसाबले यस कोशी नदीका सप्त शाखा र प्रशाखाहरु अनेक छन् । यो चिसो र उर्बरभूमि हो । जुन मैलेअघि कुरा गरें, आजको वातावरणको बारेमा जुन चासो छ । वातावरणलाई सन्तुलित राख्ने, पर्यावरणलाई ठीक राख्ने, ‘ग्लोबल वार्मिङ’ हुन नदिने सबै काम हिमालहरुले गर्छन् । त्यसकारण हाम्रा हिमालहरुको असाधारण महत्व छ । हाम्रा फाँटहरुको अन्न उब्जाउका लागि महत्व छ तर हिमालले पानी दिएन भने, हिमालका चट्टानहरुले पानी सोचेर राखिदिएन भने, विस्तारै विस्तारै ‘रिचार्ज सिस्टम’बाट पानी छोडिदिएन भने तातेर आएको ‘लु’ जस्तो हावालाई हिमालको नजिक पुग्दापुग्दै चिसो पारेर त्यसलाई थान्को लगाएर फेरि चिसो हावामा परिणत गरेर फिर्ता गरेन भने यो धर्ती ‘ग्लोबल वार्मिङ’ मात्रै होइन कि, यो धर्ती तात्दैतात्दै धेरै तातोमा पुग्न सक्छ । त्यसकारण हाम्रा हिमालहरुको त्यति महत्व छ । आज हामी विश्वको ध्यान हिमालतिर त्यसकारण तानिरहेका छौँँ, हामी सगरमाथा संवाद तुरुन्तै गर्दैछौँँ । सगरमाथा संवादको हाम्रो विषय वातावरण, हिमाल विकाससँग सम्बन्धित छ । ‘माउण्टेन क्लाइमेट’, ‘माउण्टेन इकोनोमी’ कसरी बनाउने भनेर । अर्को कुरा सबैभन्दा अग्ला हिमालहरु यसै प्रदेशमा छन् । अग्ला शिखरहरु यसै प्रदेशमा छन् । विश्वको सबैभन्दा सघन ढङ्गले अग्ला हिमालहरु भएको यही नै प्रदेश हो । अरु हिमालहरु त यहाँ थुप्रै छन् । नुप्से हिमाल, अमादब्लम हिमालजस्ता सुन्दर अरु थप हिमालहरु यहाँ छन् । हाम्रा नदीहरु, जसले ‘रिचार्ज सिस्टम’को काम गरिराखेका छन्, मुहानहरु फुटिराखेका छन्, हिउँ पर्छ, बस्छ, पग्लिन्छ । हाम्रोमा झरी पर्छ । झरी किन पर्छभन्दा त्यो चट्टानमा विस्तारै पानी सोस्दै जान्छ र पछि विस्तारै थोपाथोपा गर्दै मुल फुटाएर फेरि ‘रिचार्ज सिस्टम’लाई छाड्ने गर्छ । त्यसकारण प्राकृतिक उर्बरता, हराभरा छ । प्रकृतिको सबैभन्दा ठूलो कुलिङ सेन्टर (चिस्यान केन्द्र), सबैभन्दा रिचार्ज सेन्टर, सबैभन्दा ठूलो ‘इकोसिस्टम’ पैदा गर्ने र व्यवस्थापन गर्ने प्रणालीको कुरामा जानुुपर्छ भने सबैभन्दा महत्वपूर्ण प्रदेश कोशी प्रदेश हो । मैले खाली प्रकृतिको, इतिहास र इतिहासका गौरवगाथाको मात्रै वर्णन गर्न खोजेको होइन । यी कुराहरुलाई आगामी दिनमा तिनको खोजी गर्ने र समाधान गर्ने कुरासँग जोड्न खोजेको हुँ । आगामी दिनमा हाम्रा विकासका सम्भावनाहरु खोज्न खोजेको हुँ । हामीले के प्रयासहरु गरिराखेका छौँँ र कस्ता प्रयास गर्नुपर्छ भन्ने कुरा जोड्ने खोजेको हुँ । यस प्रदेशसभाले बनाएको सरकारले के कस्ता नीति निर्माण गर्नुपर्छ र कसरी सुशासन र विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा मैले राख्न खोजेको हुँ । एउटा गलत भाष्य के निर्माण गर्न खोजिएको छ भने व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन, हामी जहीँको त्यहीँ छौँँ, कुनै विकास भएन भन्ने । मैले केही सार्वजनिक सभाहरुमा सम्बोधनको क्रममा भनेको थिएँ कि अनेक तथ्य र प्रमाणहरुले अवस्थामा पनि ठूलो परिवर्तन ल्याएको छ । हामीले कति वर्षदेखि नभएका काम र कति वर्ष लाग्ने खालका कामहरु केही वर्षभित्र गरेका छौँँ । असाधारण काम गरेका छौँँ । विकास निर्माणको सम्बन्धमा दूरगामी दृष्टिकोण प्रस्तुत गरेका छौँँ । नेपाली जनताको आकाङ्क्षा के होभन्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । सिङ्गै नेपाल सुशासनयुक्त र समृद्ध बनाउनु पर्दछ र नेपाली जनतालाई सुखी जनता बनाउनु पर्दछ । त्यसमा सबैभन्दा नमिलेको कुरा २० प्रतिशतभन्दा बढी जनता अहिले निरपेक्ष गरिबीको रेखामुनि छन् । निरपेक्ष गरिबीको रेखामुनिको जनसङ्ख्या यस प्रदेशमा अलिकति कम छ । यहाँ साक्षरताको प्रतिशत माथि छ । यहाँ शिक्षाको स्तर माथि छ । त्यसकारण यहाँको शैक्षिकस्तरलाई अझ माथि उठाउन सकिन्छ, अझ गुणस्तरमा पुुर्याउन सकिन्छ । यहाँको गरिबी निवारणलाई अगाडि बढाउन सकिन्छ । तर, कतिपय कुराहरुमा ध्यान नपुगेको पनि देखिन्छ । जस्तो कृषिको क्षेत्रमा हामीले ‘सुपरजोन’, ‘जोन’, ‘ब्लग’ र ‘पकेट एरिया’ भनेर ठूलो मात्रामा उत्पादन गर्ने, ब्लगमा उत्पादन गर्ने र त्यसोगर्दा प्रविधिको प्रयोग गर्न, मेसिनको प्रयोग गर्न, सिँचाइको प्रयोग गर्न र अरु कुराका लागि सजिलो हुन्छ । साथै, बजार खोज्न र गुणस्तरीय वस्तु उत्पादन गर्न सजिलो हुन्छ । त्यसलाई जीविकाको मात्रै होइन, विकासको विषय बनाउन सकिन्छ । आज हामी जीविकाका लागि मात्रै सङ्घर्ष होइन, विकासका लागि, अगाडि बढ्ने कुरा र समृद्धिका लागि सङ्घर्ष गरिराखेका छौँँ । यसो गर्दा गरिबी उन्मूलन गर्नु नै छ, हटाउनु नै छ । तर, हाम्रो उद्देश्य गरिबी हटाउनेमा मात्रै सीमित छैन, समृद्धि हासिल गर्ने कुरामा पुगेको छ । हामी गरिबी हटाउँछौँं तर गरिबी हटाएर सन्तोष गर्दैनौँ । गरिबी हटाउनु भनेको खासगरी आधारभूत आवश्यकताहरुको परिपूर्ति हो तर समग्र जैविक र मानवीय न्यायोचित आवश्यकताको सहज आपूर्ति समृद्धितिर पुग्छ । तसर्थ, हामी सुशासन र समृद्धिको बाटोमा यतिबेला तीब्रताका साथ लाग्न खोजेका छौँ । त्यसैका लागि कृषि, उद्योग, व्यापार, पर्यटन, सेवा, शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा काम गरेका छौँं, रोजगारीका अवसरहरु सिर्जना गर्न कोसिस गरेका छौँं, रोजगारीका अवसर सिर्जना गर्ने मात्रै भनेका छैनौँ । म यस सभाको विशेषगरी ध्यान आकर्षित गर्न चाहन्छु, रोजगारीका अवसरहरु सिर्जना गरौँ तर रोजगारीका अवसर कहाँबाट आउँछ ? त्यसकारण रोजगारीका अवसरभन्दा बढी जोड दिनुपर्ने कुरा उद्यमशीलतामा हो । हरेक मान्छे जागिर खोज्न हिंड्यो भने कहाँ पाउने ? सरकारी जागिर सीमित छन्, कहिले एक दुईवटा अवकाश हुन्छ, त्यो खाली हुनेबित्तिकै लोकसेवाले जाँच लिंदैन, अलिक समय महिना वा कहिले वर्षौं पनि लगाउँछ । वर्षमा साढे तीन चार वा पाँच लाख श्रमशक्ति बजारमा आउँछन् । मान्छे ‘रिटायर्ड’ कहिले हुन्छ र हामी सरकारी जागिर पाउँछौँं ? त्यसो भएर सरकारी जागिर भनेको बहुत थोरैले प्राप्त गर्ने कुरा हो । सायद दुई, तीन प्रतिशतले मुस्किलले पाउँलान् । तर, हामीलाई त कमसेकम ६० प्रतिशत जनता आम्दानीयुक्त भएको हुनुपर्यो र सामाजिक सुरक्षामा आबद्ध भएको हुनुपर्यो, उसको जीवन भोलि असुरक्षित हुनुभएन । यिनै कुराका लागि अघिल्लो पटक म प्रधानमन्त्री हुँदा विकासका लागि पहिला पूर्वाधार चाहिन्छ भनेर पूर्वाधारको विकास अगाडि बढाएँ । पूर्वाधारबिना विकास गर्न सकिंदैन, बाटोबिना कसरी विकास गर्ने, विजुली, सञ्चारको ‘कनेक्टिभिटी’बिना कसरी विकास गर्ने ? तसर्थ, विकासका साधनहरु पहिला चाहियो । त्यसकारण मैले हुलाकी राजमार्गमा किन ध्यान दिएँ ? किन मध्यपहाडी राजमार्गमा ‘स्मार्टसिटी’ बनाउने कुरा, हुलाकी राजमार्गमा १२/१३ वटा ‘स्मार्टसिटी’ बनाउने ती योजनाहरु किन अगाडि सारेँ ? सातवटा प्रदेशमा आठवटा औद्योगिक क्षेत्रहरु स्थापना गर्ने र हजारौँ उद्योग स्थापना गर्ने र जसबाट रोजगारीका अवसरहरु सिर्जना गरिन्छ, निर्माण र उत्पादनका कामहरु गर्न सकिन्छ । त्यसले जनताको आर्थिक जीवनमा परिवर्तन ल्याउँछ । आज हामीले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व र स्थिरता दिनुु छ । संविधान, जसले लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई परिभाषित गरेर त्यसलाई स्थायित्व दिनका लागि मूल कानुुनको रुपमा काम गरेको छ । यो संविधान त्यसका लागि बनेको छ । संविधानको रक्षा गर्नु छ । आवश्यकताअनुसार जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा संविधान संशोधन गर्दै पनि जानुु छ । कानुुनी राजको स्थापना गर्नुपर्नेछ तर कानुनी राज बनाउनका लागि पहिला हामीले न्यायोचित कानुन निर्माण गर्नुपर्यो । अन्यायपूर्ण कानुन बनाउने अनि त्यसअनुसारको राज भन्ने हो भने त्यो त उहिले पनि थियो त । त्यो राणाशासनमा पनि त्यस्तै थियो, पञ्चायत कालमा पनि त्यस्तै थियो । तसर्थ, ती प्रणालीहरुलाई नेपाली जनताले हटायो, हामीले हटायौँ । अब हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँं । त्यसको रक्षा गर्नु छ अर्थात् हामीले प्राप्त उपलब्धिहरुको सुदृढ ढङ्गले रक्षा गर्नु छ । यिनमा कही कमीकमजोरी छ भने सुधार गर्दै अगाडि बढ्नुु छ र थप उपलब्धिका लागि अगाडि बढ्नु छ । लोकतन्त्रलाई साँचो अर्थमा प्रयोग गर्दै, लोकतन्त्रलाई जनताको जीवनसँग, जीवनस्तरसँग, आम्दानीसँग जोड्ने, उनीहरुको संस्कृति र विकाससँग जोड्ने र उनीहरुको सामाजिक मूल्य मान्यतासँग जोड्नु छ । देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने, हो । देश पछाडि फर्किन सक्दैन । देशलाई अगाडि बढाउनुपर्छ । त्यसैकारण हामीले मदन भण्डारी राजमार्ग बनायौँ । मध्यपहाडी पुष्पलाल राजमार्ग त्यसलाई पूरा गर्ने दिशामा गइराखेका छौँं । मैले अघि कृषि क्षेत्रको अलिकति कुरा गरेँ । कृषि क्षेत्रलाई हामीले आधुनिकीकरण गर्ने, व्यवसायिकीकरण गर्ने र यान्त्रीकीकरण गर्ने काम गरेका छौँं र कतिपय जिल्लामा बहुत राम्ररी कामहरु भइराखेका छन् । त्यहाँ ‘सुपरजोन’हरु बनिराखेका छन् । कहीँ जुनार र सुन्तलाखेती, कहीँ आलुखेती, कहीँ माछापालन, कहीँ केराखेती, कहीँ उखुखेती जस्ता विभिन्न प्रकारका खेतीहरु ठूलो स्केलमा भइराखेका छन् । तिनीहरुले मेसिनको सुविधा र अरु थुप्रै कुराको सुविधा पाइराखेका छन् । तालिमको सुविधा पाइराखेका छन् । यसै साता काठमाडौँमा श्रम मन्त्रालयको अग्रसरतामा र विभिन्न निजी क्षेत्रका विभिन्न उद्यमी व्यवसायी र तालिम दिने खालका संस्थाहरुसँगको सहकार्यमा दशवटा कम्पनीसँग व्यावसायिक तालिम कसरी दिने भनेर सम्झौता भएको छ । मान्छे हामीसँग छ तर तालिम दिने ठाउँ छैन, तालिम प्राप्त मान्छे छैन, काम गर्न सक्दैन । काम गर्ने रुचि छैन । यी कुराहरुलाई बदल्नुु छ । त्यो गोष्ठीमा हामीले सुन्यौँ, २० लाख श्रमिक निर्माण व्यवसायको क्षेत्रमा चाहिएको छ । तर उहाँहरु २० लाख श्रमिक पाइराख्नु भएको छैन, जम्मा छ/सात लाख श्रमिक पाउनुहुन्छ । काम छिटो किन हुँदैन भने श्रमिक पाउँदैन । त्यो पनि पारीबाट ल्याउनुपर्छ । छ/सात लाख पनि यहाँको श्रमिकले काम गरिराखेको छैन । मान्छे रोजगारी पाइन भनेर हिंडिराखेको छ, बाहिर गइराखेको छ । यहाँ व्यवसायीहरु भन्छन्, बीस लाख त निर्माण व्यवसायको क्षेत्रमा चाहियो भनेर । अरु क्षेत्र त्यस्तै भनिराखेका छन् कि हामीलाई यति श्रमशक्ति चाहियो भनेर । तनखा थोरै छ, त्यसकारण मान्छे बाहिर गइराखेको छ । काम गर्यो गर्यो खान, लगाउन, छोराछोरी पढाउँन पुग्दैन, अनि काम मात्रै गरेर घाटामा गएर के हुन्छ भनेर उनीहरु बाहिर गएका छन् । यसरी एउटा देश छोेड्नुपर्ने खालको मनस्थितिमा पुग्नुपर्ने अवस्था छ । उनीहरु किन राम्रो तलब पाउँदैनन् भने उनीहरुमा दक्षता छैन, व्यावसायिक तालिम छैन, उनीहरुले राम्ररी काम गर्न सक्दैनन् । हामीले आधुनिक तरिकाले उत्पादनका लागि प्रयोग गर्नुपर्ने प्रविधिको प्रयोग उनीहरु गर्न सक्दैनन् । किनभने उनीहरुको प्रविधिसँग पहिचान छैन । डिजिटल नेपाल हामीले भनेका छौँं, त्यसअनुसार अगाडि बढ्नु छ । त्यसमा हामी प्रयास गरिराखेका छौँं तर अहिले पर्याप्त प्रयास भएको छैन । हामीसँग यति उर्बर फाँटहरु अहिले छन् । अलिकति खेतीयोग्य जमिनहरु जनसङ्ख्या वृद्धिसँगै मासिनु स्वभाविक हो । एउटा परिवारमा दुई–तीन भाइ हुन्छन् । उनीहरुलाई त्यही जमिनले पुुग्दैन, अनि उसका दुईभाइ छोराहरु कमसेकम बाहिर जान्छन् । त्यसकारण जग्गा टुक्रिन्छ । त्यो खालको स्थिति स्वभाविक हो । कृषिमा पहिलाको जस्तो एउटा परिवार नै उत्पादनको एकाइ हुने समय गयो । अब कलेक्टिभिजमतिर, सामूहिकतातिर, सहकारीतिर जानुपर्छ । केही गैरसहकारी तत्वहरुले सहकारीमा घुसपैठ गरेर सहकारीको बदनाम गरे । सहकारी वा सामूहिक खेती प्रणाली वा ठूलो परिणाममा लानका लागि, थोरैथोरै पुँजी, थोरै जमिन जे छ हामीसँग, त्यसलाई संगोलमा सञ्चालन गरेर लान सकिन्छ । अहिले हामीले हेर्यौँ भने चितवनमा त्यस्तै गर्दैछन् । उनीहरुले चार विगाहाको एउटा गरो बनाउँछन् । चार विगाहाको एउटा फाँटमा कति जनाको खेत त्यहाँ पर्छ, कसैको एक विगाहा होला, कसैको डेढ विगाहा होला । २० विगाहा जमिनका चार/पाँचवटा गरा हुन्छन्, कहिले कहिले दुुई/तीनवटा गरा हुन्छन् । त्यो उनीहरुको आली हुँदैन, नक्सामा मात्रै उनीहरुको सीमाना हुन्छ । कति जमिन छ भन्ने थाहा छ, कति मल लाग्यो, कति सिँचाइ भयो, कति खर्च भयो र कति आम्दानी भयो भनेर जग्गाअनुसार छुट्याउन सकिन्छ । त्यहाँ किन आली लगाउनुु पर्यो ? कति जमिन हो भन्ने कुरा नक्सामा छ, श्रेस्तामा छ । त्यसो भएपछि त्यसमा भएको खर्च, लगानी, श्रमशक्ति आफ्नो आफ्नो ढङ्गले उनीहरुले छुट्याउन सक्छन् । तर मैले आज बिहानको राति मात्रै एउटा भिडियो हेरेको थिएँ, किसानले भन्छन्, हामीसँग धान रोप्ने मेसिन छ, हामी धान रोप्दैनौं । धान काट्ने मेसिन छ, गोड्ने मेसिन छ, पराल छुट्याउने मेसिन छ, पराल र धान छुट्याउने मेसिन छ, पराललाई अर्को काममा लगाउने मेसिन छ, हामीसँग सबैको मेसिन छ । उनीहरुले भने, ‘प्रधानमन्त्रीज्यू अब मर्मतसम्भार गर्ने पनि अफिस राखिदिनुु पर्यो भनेर ।’ हामीले मेसिन दियौँ, सबै दियौँ तर मर्मसम्भार गर्ने त्यहाँनिर चाहिएछ । अर्थात्, उहाँहरुको गरिबी हट्यो तर उहाँहरु पर्याप्त समृद्ध भइसक्नु भएको छैन । त्यसकारण मर्मतसम्भार गर्ने चिज मागिरहनु भएको छ । हामीले पछाडि परेको नेपाललाई अगाडि बढाउनु पर्नेछ । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य संयुक्त राष्ट्रसङ्घले तोकेको छ । त्यो दिगो विकास लक्ष्य पूरा हुने सम्भावना त देखिंदैन तर गतवर्ष हामीले मूल्याङ्कन गर्दा सरदर १७ देखि १८ प्रतिशत मात्रै दुनियाँमा काम भएको रहेछ । दिगो विकासको लक्ष्य सन् २०१५ बाट सुरु भयो । सन् २०२४ मा मूल्याङ्कन गर्दा १७ देखि १८ प्रतिशत मात्रै काम भएको रहेछ । तर हामीले सन् २०१५ देखि २०२५ सम्म पुग्दा ४८ प्रतिशत काम गरेका रहेछौँं । यो खुशीको कुरा हो । दिगो विकास लक्ष्य भेट्नका लागि हामीले ४८ प्रतिशत काम अगाडि बढाएका रहेछौँं वा काम पूरा गरेका रहेछौँं । अरुले भन्दा बढी तीव्रताका साथ नै गरेका रहेछौँ । कोभिडभन्दा अगाडि आइपुग्दा विश्व बैंकले नेपालको मूल्याङ्कन गरेको थियो कि नेपाल आर्थिक क्षेत्रमा दक्षिण एसियाको एउटा उदाउँदो तारा हो भनेर । राइजिङ स्टार अफ साउथ एसिया भनेको थियो । त्यसपछि कोभिड आयो, अरु कुराहरु भए, हामी केही पछाडि पर्यौँ । एक वर्ष हामीलाई कोभिडले थला पार्यो, त्यसपछि हामी फेरि तंग्रिन थाल्यौँ, उठ्न थाल्यौँ । अब कोभिडलाई अपजस लगाएर हुँदैन, कोभिडलाई छिचोलेर मान्छे अगाडि बढिसके र आइसके । अब हामी समालिनु पर्दछ । हामी जता जानुपर्ने हो, त्यो बाटो नै समाउनुपर्छ । हाम्रो आजको आवश्यकता त्यो हो । यतिबेला हामीलाई शान्ति र राष्ट्रिय एकता चाहिएको छ । हाम्रो विविधतायुक्त देश छ । भौगोलिक विविधता, जैविक विविधता, वनस्पतीय विविधता, सामाजिक विविधता, भाषिक विविधता, सांस्कृति विविधता र अनेक विविधता छन् । पूर्वदेखि पश्चिमसम्म सबै हाम्रो देश हो । त्यसकारण विविधतायुक्त हाम्रो देश छ भन्ने कुरा हामीले बुझ्नुपर्छ । हामी विविधतामा एकता, विविधता हाम्रो सम्पन्नता हो, विविधता हाम्रो सम्पदा हो । यति सानो देशमा, यति सानो जनसङ्ख्यामा यति ठूलो विविधता अत्यन्तै बिरलै हुने कुरा हो । यो सजिलो कुरा होइन तर हामी कहाँ छ । हिजो इतिहासमा सामाजिक असमानता, आर्थिकलगायत विभिन्न प्रकारका सांस्कृतिक विभेदहरु थिए । राजनीतिक प्रणालीले त्यस विभेदलाई जन्म दियो, रक्षा गर्यो, सुरक्षा दियो र हुर्कायो । आज हामी ती प्रणालीअन्तर्गत छैनौँ । जसले त्यस्ता विभेदहरु जन्माउने र हुर्काउने काम गरे, तिनको पक्षमा हामी छैनौँ । आज हामी सबैका निम्ति प्रणाली, विकास, सुरक्षा, सुशासन, अधिकार सुनिश्चित गर्ने प्रणालीमा छौँं, हामी लोकतन्त्रमा छौँं । लोकको तन्त्र वा जनताको तन्त्रमा छौँं । तसर्थ, आज हामीले यी कुराहरुमार्फत् सामाजिक न्याय र समानता कायम गर्दै, तिनलाई बढावा दिंदै, तिनलाई स्थापना गर्दै, तिनलाई सुदृढ गर्दै सामाजिक सद्भाव कायम गर्ने बाटोमा र सामाजिक सद्भावमार्फत् राष्ट्रिय एकता कायम गर्ने बाटोमा र सिंगै राष्ट्र एकजुट भएर देशको विकास गर्ने, सुशासन र विकासको बाटोमा अगाडि बढ्नुपरेको छ । आजको हाम्रो अभिभारा र आवश्यकता यही हो ।