काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज (शुक्रबार) थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता हुने भएको छ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको ‘साइडलाइन’ वार्ता गर्न दुई प्रधानमन्त्रीबीच भेट हुन लागेको हो।
प्रधानमन्त्रीको भ्रमणतालिकाअनुसार, आज शुक्रबार साँझ ४ बजे भेट तय भएको छ। भेट बैंककस्थित म्यान्डारिन ओरियन्टल होटलमा हुनेछ। यो त्यही होटल हो, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बस्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भने ब्यांककस्थित सांग्रिला होटलमा बसेको छ। मोदीसहितको भारतीय प्रतिनिधिमण्डल रहेको ओरेन्टल होटल नेपाली प्रतिनिधिमण्डल रहेको सांग्रिला होटलबाट करिब १५ मिनेटको दूरीमा छ।

स्रोतका अनुसार, ओली–मोदीबीचको भेटवार्ता २०–३० मिनेटसम्मको हुनसक्छ। दुई नेताबीच हार्दिकता थपिँदा थप केही मिनेट बैठक लम्बिन सक्ने स्रोतहरूले बताएका छन्। दुई शीर्ष नेताबीचको भेटवार्तामा नेपाली पक्षबाट प्रधानमन्त्री ओलीका साथ अन्य ६ शीर्ष अधिकारीहरू रहनेछन्। तिनमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अर्का सल्लाहकार डा युवराज खतिवडा हुनेछन्।
यसैगरी मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई पनि दुई प्रधानमन्त्रीबीचको भेटवार्तामा सहभागी हुने बताइएको छ। बिमस्टेकको शिखर सम्मेलन भोलि नै हुनेछ। बैठकमा बिमस्टेक राष्ट्रका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बिमस्टेक सम्मेलनका अलावा प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमणमा समेत भएकाले शनिबार बिहानसम्म ब्यांककमा हुनेछन्।