बरहथवा (सर्लाही), २४ चैत : चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दैआएका थिए । यसरी खेती गर्दा उत्पादनभन्दा लगानी धैरै लाग्ने गरेको चन्द्रनगर–२ का पुनित महतोले बताउनुभयो । तीस कठ्ठा जग्गामा वर्णशङ्कर जातको मकै लगाउनुभएका उहाँ विद्युतीय मोटरबाट मकैखेतमा पानी लगाउँदै गरेको अवस्थामा भेटिनुभयो । विद्युतीकरणपछि खेतीपाती गर्न सहज भएको महतोको भनाइ छ । “यसअघि खेतमा पानीको उपाय नै थिएन”, उहाँले भन्नुभयो, “पोखरी वा नालामा जमेको पानी पम्पसेटबाट तान्ने गरेको थिए ।” पम्पसेटबाट पानी तान्न खर्चिलो हुने उहाँको भनाइ छ । “पहिला यही खेतमा एकपटक पानी तान्न रु तीन हजारदेखि रु चार हजारसम्म डिजलको खर्च हुन्थ्यो”, महतोले भन्नुभयो, “अहिले त्यही लागतमा सिजनभरि (चारपटक) पानी तान्न पुग्छ ।” स्थानीय तहले दुई वर्ष अघि खेत खेतमा (कृषि विद्युतीकरण) पोल गाडेर बिजुली पुर्याएको थियो । त्यसयता महतोलगायत यहाँका एक हजार २३५ बढी किसानले कृषि मिटर जडान गरिसकेका छन् ।

सिँचाइको व्यवस्था नहुँदा अकासे पानीको भरमा गहुँ, मसुरो, चना, उखुलगायत खेती लगाउने गरेका चन्द्रनगर–६ बबरगन्जका किसान सुवोध साहले बताउनुभयो । यसरी गरेको खेतीमा लागत धेरै र उत्पादन थोरै हुँदा लागतसमेत नउठ्ने गरेको उहाँको अनुभव छ । “यहाँका खेत प्राणबिनाका शरीरजस्तै बनिसकेका थिए”, साहले भन्नुभयो, “गाउँपालिकाले कृषि विद्युतीकरण गरेपछि खेत हराभरा बनेका छन् ।” अहिले प्रति कठ्ठामा चार क्विन्टलसम्म मकै उत्पादन हुने गरेको साहले बताउनुभयो । उहाँले दुई वर्षदेखि आफ्नो र ठेक्का गरी तीन बिघा खेतमा वर्णशङ्कर जातको मकैखेती गर्नुभएको छ । पानीको सुविधापछि तरकारीखेती फस्टाएको स्थानीय जितेन्द्र महतोले बताउनुभयो ।
अहिले आफूसँग भएको दुई कठ्ठा खेतमा लगाएको तरकारी बिक्रीबाट पाँच जनाको परिवार पालनपोषण गर्न सकेको उहाँको भनाइ छ । अहिले यस क्षेत्रमा ठूलो क्षेत्रफलमा व्यावसायिक तरकारीखेती हुँदै आएको छ । मौसमअनुसार काउली, बन्दा, सिमी, बोडी, खुर्सानी, भिण्डीलगायतको तरकारी प्रशस्त उत्पादन हुने गरेको महतोले बताउनुभयो ।