काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि भएको व्यवहार र घटना एउटा व्यक्तिमाथिको अन्याय मात्र नभइ संविधान र विधिको शासनमाथिको गम्भीर आक्रमण भएको बताएकी छन्।
सामाजिक सञ्जालमा लेख्दै गौतमले यस्तो बताएकी हुन्। जब राज्यका संयन्त्रहरूले कसैको पक्राउ कानुनी आवश्यकता नभएर राजनीतिक प्रतिशोध बन्न पुग्छ भने त्यहाँ लोकतन्त्रको देहावसान हुने उनले बताइन्। ‘जब राज्यका संयन्त्रहरू आफैँले कानुनको पालना गर्न छाड्छन्, अनि कसैको पक्राउ कानुनी आवश्यकता नभएर राजनीतिक प्रतिशोध बन्न पुग्छ त्यहाँ लोकतन्त्रको देहावसान हुन्छ,’ उनले लेखेकी छन्, ‘हाम्रो पार्टी सभापति मा. रवि लामिछानेमाथि हिजो भएको व्यवहार र घटना एउटा व्यक्तिमाथिको अन्याय मात्र होइन, संविधान र विधिको शासनमाथिको गम्भीर आक्रमण हो।’
पक्राउ पुर्जीबिना अर्काको घरआँगनमा टेकेर, तर्साएर, बल देखाएर, चर्को स्वर गरेर गरिएको व्यवहार कुनै त्रुटि नभएर संविधानको धारा २० र न्याय प्रणालीको आधारभूत सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन र नियोजित बलमिच्याइँ भएकव सांसद गौतमको भनाइ छ।
उनले उच्च अदालतको आदेश जिल्ला अदालतमा राति पुग्नु अनि ट्रेल कोर्टले बाँकी प्रक्रिया पूरा गर्नु त्यति राति नै कसरी सम्भव भयो भन्दै प्रश्न समेत गरिन्। साथै राज्य संयन्त्रको रविमाथिको उक्त बलमिच्याइँको घोर भर्त्सना समेत गरेको उनले भनेकी छन्।