काठमाडौँ: कागेश्वरी मनहरा नगर अस्पतालले रामेछापको मन्थली नगर अस्पताललाई ल्याबका उपकरणहरु सहयोग गरेको छ। काग्रेश्वरी मनहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले मन्थली नगरपालिका मेयर तथा मन्थली नगर अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष लव श्रेष्ठलाई कागेश्वरी मनहरानगर अस्पतालमा रहेका ल्याबका उपकरणहरु हस्तान्तरण गरेका हुन्।

कागेश्वरी मनहरा नगर अस्पतालमा सेरो ल्यावसंगको सहकार्यमा अत्याधुनिक ल्याव सेवा शुरु भएपछी उसले आफ्ना करिव ६० लाख बराबरको उपकरणहरु मन्थली नगर अस्पताललाई हस्तान्तर गरेको हो।
ल्याबका उपकरणहरु हस्तान्तरणपछि कागेश्वरी मनहरा नगरपालिका र रामेछापको मन्थली नगरपालिका बीच भगिनी सम्बन्ध समेत कायम गरीएको छ। आगामी दिनमा दुई स्थानीय तहका बीचमा भएका सम्बन्धलाई थप मजबुत पार्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा भगिनी सम्बन्ध महत्वपूर्ण साबित हुने विश्वास दुई नगर प्रमुखले गरेका छन्।
उनीहरुले आफ्ना सफल अभ्यासहरूबाट प्राप्त सिकाइको आदानप्रदान गरी आगामी दिनमा यस्तै प्राविधिक तथा आपसी सहयोग आदानप्रदान गरी सञ्चालन गर्ने, संयुक्त साझेदारीमा पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने खालका परियोजना सञ्चालन गर्न प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

सो हस्तान्तरण कार्यक्रममा कागेश्वरी मनहरा नगपालिकाका उपप्रमुख शान्ता थापा, वडाध्यक्षहरु, अस्पताल व्यवस्थापन समितिका सदस्यहरु, लगायत अस्पतालका अन्य विभागीय प्रमुखहरुको समेतउपस्थिति रहेको थियो।