राँझा (बाँके), ४ वैशाखः जिल्लाको कोहलपुर नगरपालिकाले गन्धर्व समुदायको संस्कृति प्रवर्द्धनका लागि सारङ्गी वादन तालिम सुरु गरेको छ । नगरपालिकाभित्र रहेका लोपोन्मुख गन्धर्व समुदायका लागि संस्कृति प्रवर्द्धन र आर्थिक विकास गर्ने उद्देश्यले छ दिने सारङ्गी वादन तालिम सञ्चालन गरिएको हो । आर्थिक रूपमा विपन्न र सामाजिक रूपले पछाडि परेका गन्धर्व समुदायलाई आत्मनिर्भर बनाउँदै संस्कृति जोगाउन सारङ्गी वादन तालिम सुरु गरिएको कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले जानकारी दिनुभयो । “गन्धर्व समुदायको संस्कृति जोगाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउन सबैको सहयोगको खाँचो छ”, उहाँले भन्नुभयो, “गन्धर्व समुदायको संस्कृतिको प्रवर्द्धन गर्नु स्थानीय सरकारको दायित्व भएकाले तालिमको आयोजना गरी सीप विकासमा लागेका हौँ ।” उहाँले गन्धर्व समुदायका नयाँ पुस्ताले आफ्नो संस्कृति र कलाबाट पहिचान बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय गन्धर्व समुदायले समय अनुसार आफ्नो पेसालाई परिमार्जन गर्न आवश्यक रहेको भन्दै पहिलेको जसरी घरघरमा र सडक, बजारमा मात्र नभइ यसलाई व्यावसायिक रूपमा अघि बढाउनुपर्ने संयोजक विश्वकर्माले बताउनुभयो । पछिल्लो पुस्तालाई आफ्नो कला, संस्कृति हस्तान्तरण गर्दै संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको गन्धर्व विपन्न अल्पसङ्ख्यक संस्कृति संरक्षण विकास सङ्घ कोहलपुर–२ का अध्यक्ष सुशीलकुमार बैगारले बताउनुभयो । गन्धर्व समुदायको संस्कृति र सारङ्गी वादन तालिमले यो समुदायलाई जीवनयापनमा थप राहत मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । तालिममा अधिकांश महिला सहभागी रहेका सङ्घले जनाएको छ । नेपालमा पहिलो पटक महिलाले पनि सारङ्गी रेट्न सक्ने गरी तालिमले सक्षम बनाउने आशा गरिएको नगरपालिकाको सामाजिक विकास समितिका संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।
सारङ्गी संस्कृति लोप हुने चिन्ता
सारङ्गी संस्कृति र गायन हराउन थालेपछि गन्धर्व समुदायका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षण हुनुपर्ने उनीहरूको भनाइ छ ।पोखरा बाटुलेचौरका खिमबहादुर गन्धर्व ८८ वर्ष पुगे । उमेर छँदा सारङ्गी बजाएर गाउँदै हिँडेको उनलाई निकै याद आउँछ । उनी लोक गायक झलकमान गन्धर्वका साथी पनि हुुन् । उनलाई पछिल्लो समय सारङ्गी वादन हराउँदै जान थालेकोमा चिन्ता लाग्छ ।“अहिलेका केटाहरू गीतार, हार्मोनियम, किबोर्ड केके भन्छन् । यस्तै छ सिक्न त्यति सारो रुचि गर्दैनन्”, खिमबहादुरले भने, “सारङ्गी त हाम्रो संस्कृति हो नि । त्यही भएर हराउँछ की भन्ने साह्रै चिन्ता लाग्छ ।”
सिक्न चाहनेका लागि सिकाउन आफू तत्पर रहेको उनले सुनाए । “अलि अलि चासो लिएर आउनेलाई सिकाउने गरेको छु”, उनले भने, “गीत गाउन त घाँटीले साथ दिँदैन । सारङ्गी लिएर यसो गर उसो गर भनेर भन्न सक्छु । अनि सिकाउँछु पनि ।” गोरखा नगरपालिका–७ धारापानीका मङ्गलप्रसाद गान्धारी पनि युवापुस्ताले सारङ्गी बजाउन नखोज्ने बताउछन् । “हाम्रा पालामा सारङ्गी बोकेर घटना सुनाउन कता कता पुगिन्थ्यो । अहिले त त्यो छैन”, मङ्गलप्रसादले भने, “हामी जसरी गाउँ गाउँ नहिँडे पनि बजाउन मात्रै सिकिदिए नि हुन्थ्यो भन्ने हुन्छ ।”
गन्धर्व संस्कृति जोगाउन यसको महत्व बुझाउनुपर्ने गान्धारीको भनाइ छ । संस्कृति जोगाउनका लागि सरकारले बजेट छुट्याए पनि आफ्ना समुदाय माग गर्नै नजाने उनले बताए । “यसलाई जोगाउन हाम्रो संंस्कृतिको महत्वबारे नयाँ पुस्तालाई बुझाउनुपर्छ”, उनले भने, “सरकारले बजेट त छुट्याएको हुन्छ नि हाम्रो मान्छेहरू माग गर्नै जान्नन् ।”
तनहुँकी २२ वर्षीया अरुणा गन्धर्व हराउँन थालेको सारङ्गी संस्कृति जोगाउन तल्लिन छन् । उनले सारङ्गी बजाउन थालेको सात वर्ष भयो । अहिले उनले जानेको सीप स–साना भाइबहिनीलाई पनि सिकाउन व्यस्त छन् । तनहुँ जामुने क्षेत्रमा सारङ्गी वादनमा अझ सक्रिय भएर लाग्ने अरुणाको प्रतिबद्धता छ । “बाबाहरूले गाउथे । मैले पनि बीचमा वास्ता गरेको थिइन् । पछि हाम्रो संस्कृति जोगाउन हामी नै लाग्नुपर्छ भन्ने मनमा जाग्यो अनि सिकेर बजाउँदै आएको छु”, अरुणाले भनिन् । युवापुस्ताले संस्कृति जोगाउन ध्यान नदिने हो भने लोप भएर जाने उनीको तर्क थियो ।
नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले सारङ्गी वादन संस्कृति जोगाउन आफूहरू प्रयासरत रहेको जानकारी दिए । युवापुस्ताले हाम्रो संस्कृति मङ्गल, महाल, कर्खा, मालश्री, नौराग, बाह्रमासे गीत बिर्सदै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । “हाम्रो संस्कृति जोगाउन यो वर्ष सारङ्गी वादन प्रतियोगीता गर्यो”, अध्यक्ष सूर्यबहादुर गायकले भने, “सात वर्षभन्दा माथिका बच्चाहरूलाई सारङ्गी वादन तालिम दिइरर्हेका छौँ ।” सारङ्गी बजाउन जानिसकेकालाई गन्धर्व गीतको प्रशिक्षण दिइरहेको उनले सुनाए ।


