२७ जेष्ठ २०८३, बुधबार 1781071413
पर्यटन

पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण

वैशाखः विक्रम संवत् २०८१ मा दुई लाख पर्यटकले बन्दीपुर भ्रमण गरेका छन् । दुई लाख दश हजार पर्यटकले बन्दीपुर भ्रमण गरेका बन्दीपुर भ्रमण वर्ष सचिवालयले जनाएको छ । उक्त अवधिमा ६० हजार विदेशी पर्यटक र एक लाख ५० हजार स्वदेशी पर्यटक आएका हुन् ।

सचिवालयका अनुसार गत जनवरी १ तारिखदेखि जारी बन्दीपुर भ्रमण वर्षका क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तरमापन कार्यक्रम गरिएका छन् । प्रशस्त किनमेल गर्ने र लामो समयसम्म पर्यटकलाई नगर क्षेत्रमा नै आकर्षित गर्ने उद्देश्यका साथ अतिथि सत्कारलगायत गतिविधि गुणस्तरीय बनाइएको छ । पर्यटकीय गन्तव्य र उपजहरुको विस्तार, पर्यटकीय सेवासुविधा वृद्धिमा जोड दिइएको छ । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, संयुक्त अधिराज्य, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, स्विट्जरल्याण्ड, मलेसिया, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाबाट पर्यटक आएका थिए ।

‘चिल’ बन्दीपुर ! 

शान्त र शीतल वातावरण, परम्परागत नेवारी वास्तुकला जोगाइएका घर तथा स्थानीय स्लेट ढुङ्गाले छापिएका सडकले बन्दीपुरलाई जिउँदो सङ्ग्रहालयजस्तै बनाएको छ । भक्तपुर र कीर्तिपुरबाट आएका नेवार समुदायले बसालेको यो ऐतिहासिक बस्ती तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकामा पर्छ । बन्दीपुर पुरानो जिल्ला सदरमुकामसमेत हो ।

प्राचीन शैलीका चिटिक्क परेका घरहरू यहाँका प्रमुख आकर्षण हुन् । यहाँका घरहरूले बन्दीपुरको इतिहास, संस्कृति र विशिष्ट पहिचान बोकेका अमूल्य सम्पदाको प्रतिनिधित्व गर्छन् । यही कारणले यस पहाडी बजारलाई अझ जीवन्त र आकर्षक बनाएको छ ।

‘पहाडीकी रानी’ भनेर चिनिने बन्दीपुर पुग्ने पर्यटक यहाँको मनोरम दृश्य देखेर रमाउने गर्छन् । स्वदेशी तथा विदेशी पर्यटकले यहाँ फोटो खिच्ने, टिकटक रिल तथा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन् ।

बिहान सूर्योदयसँगै देखिने हिमशृङ्खला होस् वा साँझको शान्त वातावरण, बन्दिपुरको कालजयी सौन्दर्यले पर्यटकलाई ‘चिल’ अर्थात् आनन्दित बनाउने गरेको छ । सामाजिक सञ्जालमार्फत प्रचार हुन थालेपछि बन्दिपुर “प्रकृतिसँगै शान्ति महसुस गर्ने ठाउँ” का रूपमा चर्चित बन्दै गएको छ ।

स्थानीय होटल तथा होमस्टे व्यवसायीका अनुसार बिदाको समयमा पर्यटकको चाप उल्लेख्य रूपमा बढ्ने गरेको छ । विदेशी पर्यटकमध्ये युरोपेली पर्यटक बढी आउने स्थानीय व्यवसायी सुजन श्रेष्ठले बताउनुभयो ।