मोरङ रंगेलीकी जानुका कार्की थापाको पहिचाहन नै ‘माहुरी दिदी’ भएको छ । २०६२ सालदेखि चार घार माहुरीबाट व्यवसाय सुरु गरेकी थापा अहिले निरन्तर माहुरी व्यवसायमा छिन् । उत्पादित महको बजारीकरणमा पनि उनी आफैं सक्रिय रहेकी छिन् । अहिले उनलाई सबैले माहुरी दिदी बनेर बोलाउँछन् । २०५३ सालतिर उनका श्रीमान् बैदेशिक रोजगारीको शिलशिलामा बाहिर थिए । श्रीमान्को कमाईले जेनतेन आफ्नो घरव्यवहार चलाईरहेकी थिईन् । श्रीमान्को विदेशमा सोचेअनुसारको कमाई भईरहेको थिएन् । कमाई कम भएपछि खर्च धान्न पनि धौ धौं हुन थाल्यो ।
थापा गाउँमा कै एउटा माहुरी सहकारीको उपाध्यक्ष पनि थिईन् । उनले दुई कार्यकाल सो सहकारीको उपाध्यक्ष भएर काम गरिन् । विदेशमा श्रीमान्को कमाई नभएपछि सहकारीको सञ्चालक समितिमा रहेकी थापाले सहकारीबाट थोरै ऋण लिएर २०६२ सालदेखि चार घार माहुरीबाट व्यवसाय सुरु गरेकी हुन् । उनले माहुरी व्यवसाय सुरु गरेपछि श्रीमान् पनि विदेशबाट फर्केर व्यवसायलाई सघाउन थाले ।
व्यवसाय सञ्चालन गर्दैगर्दा २०६८ सालमा उनले आफ्नै अध्यक्षतामा पूर्णिमा महिला माहुरी पालन सहकारी सञ्चालनमा ल्याईन् । गाउँका केही महिलाहरुको सहभागितामा सहकारी सञ्चालनमा ल्याएकी हुन् । अहिले सहकारीमा ९० जना शेयर सदस्य रहेका छन् ।
घरपरिवारको सहयोगमा उनले विस्तारै माहुरीका घार बढाउँदै गईन । उनले कुनै समय २ सयसम्म घार बनाईन् । “कहिले मौरी मरेर डेढ सयसम्म देखि ९० वटा घार सम्म पुगेको छ”, उनले भनिन्, “व्यवसायमा उताव चडाव भईरहन्छ, जस्तै सुकै परिस्थितिमा पनि धैर्य गरेर काम गर्न सक्दा घाटा हुँदैन ।” अहिले फेरी बढाएको माहुरीको घार बढाएको उनले बताईन् । अहिले लगभग २ सय घार माहुरी रहेको उनले जानकारी दिईन् ।
१९ बर्ष देखि माहुरी पालन व्यवसाय गर्दै आएकी थापा सिजनमा १५/२० क्विन्टलसम्म मह उत्पादन हुने बताउँछिन् । ५० हजार लगानीबाट सुरु भएको उनको माहुरी पालन व्यवसायमा अहिले लगभग १ करोड लगानी भईसकेको छ ।
उनले दैनिक ४ जनालाई रोजगारी दिएकी छन् भने मासिक रुपमा काम गर्ने ४ जना छन् । सिजनमा दैनिक काम गर्ने ९/१० जना पनि हुने गरेको उनले बताईन् ।
उत्पादित मह धेरैजसो घरबाट विक्री हुने गरेको छ भने माग अनुसार मोरङका विभिन्न ठाउँ तथा काठमाडौंका पसलहरुमा पुर्याउने गरेको थापाले जानकारी दिईन् ।
थापाले मोरङ, काठमाडौं र जनकपुरमा हुने विभिन्न मेला तथा सहकारी भेलाहरुमा पनि आफ्नो उत्पादनको स्टल राख्ने गरेको जनाइन् । उनले बार्षिक रुपमा ७/८ लाख रुपैया आम्दानी गर्ने गरेकी छिन् ।
सहकारीकर्मी देखि माहुरी पालन व्यवसायी बनेकी थापा अहिले नेपाल मौरीपालन केन्द्रिय सहकारी संघको अध्यक्ष छिन् ।
सहकारी अभियानसँगै आफ्नो व्यवसायलाई अगाडि बढाईरहेकी थापा व्यवसायमा निकै चुनौति रहेको बताउँछिन् ।
“माहुरीहरु धेरै मरिरहेको हुन्छ कुनै सिजनमा, कुनै बेला बढीरहेको नि हुन्छ”, उनले भनिन्, “सरकारले दिने कृषि अनुदान हामीजस्ता वास्तविक किसानले पाउँदैनौँ, नेताको पहुँचमा नक्कली किसान बनेर अनुदान लिईरहेका हुन्छन् ।” थापा मोरङ लगायत देशका विभिन्न ठाउँमा हुने हरेक मेला महोत्सवमा स्टल राखेर आफै उपस्थित भएर मह बेच्छिन् ।
बजार राम्रो नहुँदा उत्पादित धेरै मह स्टक राख्नुपरेको उनको गुनाँसो छ । तीन तहको सरकार भएपनि राम्रो कृषि निति नहुँदा आफूहरु मारमा परेको उनको भनाई छ ।
नेपाली बजारलाई पुग्ने मह नेपाली किसानहरुले नै उत्पादन गरेको भएपनि भारतबाट आउने विशेष गरी डाबर र पतञ्जलीको महले गर्दा नेपालमा उत्पादित महलाई असर गरेको उनको भनाई छ ।
“हाम्रो उत्पादन अर्गानिक हुन्छ र अलि मह्गो पनि हुन्छ । तर भारतबाट आउने मह सस्तो हुन्छ त्यसैले ग्राहक गुणस्तर भन्दा पनि सस्तोतिर लागिरहनुभएको हुन्छ” उनले भनिन्, “भारत सरकारले व्यापारिलाई इन्सेन्टीभ दिएको हुन्छ । नेपाली ब्यवापारिलाई पनि ४ सयमा एक किलो बेच्दा पनी फाईदा हुन्छ । त्यसैले हाम्रो भन्दा केही सस्तोमा बेचिदिन्छन् । हाम्रो सरकारले इन्सेन्टीभ पनि दिदैन । सरकारको सपोर्ट छैन । हामीले हाम्रो लगानी देखि मेहनतसम्मको सबै कुरा उत्पादित बस्तु विक्रीबाट निकाल्नुपर्ने हुन्छ । त्यसले गर्दा पनी बजारमा भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या छ ।”
“देशको आर्थिक अवस्था सुधार गर्न माहुरी पालन व्यवसायले पनि सहयोग पुर्याउन्छ भन्ने कुरा तीनै तहका सरकारले नबुझेका कारण पनि हामी व्यवसायीहरु मारमा परेका छौं” थापाले भनिन् ।सरकारले हेरेन भनेर हाम्रो व्यवसाय छाड्नु पनि भएन । जसो तसो सञ्चालन गरिरहेको र अब यसलाई नै निरन्तरता दिईने उनले बताईन् ।
आफू सहकारी अभियानमा हिडेको बेला परिवारले व्यवसायलाई सहयोग गर्दै आएको उनको भनाई छ । विगतदेखि नै सहकारी क्षेत्रमा लागेको र सहकारीबाट नै व्यवसायमा प्रवेश गरेकाले दुवैको उत्तिकै माया आफूलाई रहेको उनले बताईन् ।
महसँगै अहिले उनले गुन्द्रुक, मसौरा, बेसार, विभिन्न प्रकारका अचार लगायतका सामान उत्पादन गरेर बजारीकरण गरिरहेकी छिन् ।