काठमाडौँ । नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ठगीको मुद्दा चलाएको छ । बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । बुधबार बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा ठगीको कसूरमा मुद्दा दायर भएको हो ।

सिंहसहित तत्कालिन बाल मन्दिरका उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यमकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी र मुरारीनिधि तिवारीविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै यस्तै पुरुषोत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई प्रतिवादी बनाइएको छ ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिता र मुलुकी ऐन ठगीको महल कसुरबमोजिम ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्मको मागदाबी गरिएको छ ।
प्रतिवादीहरुविरुद्ध कार्यालयले ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो मागदाबी र सोही बराबर क्षतिपूर्तिको माग पनि गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन व्युरो ९सिआईबी० ले आवश्यक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले थप छानवीन गरेर मुद्दा बुझाएको हो ।


