पोखरा, नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार मतदान बिहान ८ बजे सुरु भई अपराह्न ४ बजेसम्म चल्नेछ।
प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीद्वारा हस्ताक्षरित सूचनाअनुसार, मतदान विद्युतीय मेसिनमार्फत हुनेछ र मतदान सकिएलगत्तै मतगणना सुरु गरिनेछ। परिणाम आजै सार्वजनिक गरिने बताइएको छ।

पोखरामा पहिलोपटक आयोजित महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। उनले उद्घाटन सत्रमा सर्वसम्मत नेतृत्व चयनको आह्वान गर्दै, त्यो सम्भव नभए स्वस्थ प्रतिस्पर्धाको बाटो लिन निर्देशन दिएका थिए।
बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित भएपछि नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिए पनि असफल भएको छ। वर्तमान अध्यक्ष क्षितिज थेबेलाई पुनः सर्वसम्मत बनाउने प्रयास गरिएको थियो। युवा संघका इन्चार्ज राजीव पहारी, पूर्वअध्यक्ष महेश बस्नेत, जनवर्गीय संगठन इन्चार्ज भानुभक्त ढकाललगायत नेताहरू थेबेलाई समर्थन गरिरहेका छन्।
तर, महासचिव सुमन पुरीले अध्यक्ष पद नछाड्ने अडान लिएपछि प्रतिस्पर्धा अनिवार्य बनेको हो। शनिबार साँझ पोखरा सभागृहभित्र र बाहिर थेबे र पुरीका समर्थकहरूले नाराबाजीसहित शक्ति प्रदर्शन गरे।
महाधिवेशनबाट जेठ ११ भित्र नेतृत्व चयन गर्ने लक्ष्य राखिएको थियो। तर, सहमतिको प्रयासले समय खाएको बताउँदै इन्चार्ज पहारीले आज मतदान हुन लागेको पुष्टि गरे।
हालका उपाध्यक्षहरू महाराज गुरुङ, प्रकाश गौतम, र कृष्णहरि केसी अध्यक्षको दौडबाट बाहिरिएसँगै अध्यक्ष पदका लागि प्रतिस्पर्धा थेबे र पुरीबीच हुने भएको छ। थेबे अघिल्लो (नवौँ) महाधिवेशनमा महासचिव हुँदै अध्यक्ष चुनिएका थिए भने पुरी उपाध्यक्ष, त्यसपछि महासचिव हुँदै अध्यक्षको दाबीमा उत्रिएका छन्।
थेबेले पार्टी अध्यक्ष ओली, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, भानुभक्त ढकाल, र महेश बस्नेतको समर्थन पाएका छन्। पुरीलाई भने स्थायी कमिटी सदस्य कर्ण थापा, पूर्वअध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, विनोद ढकाललगायत नेताहरूको साथ छ।
शनिबार रातिसम्ममा मतदानका लागि ४५ वटा विद्युतीय मेसिन पोखरा ल्याइएको छ। महाधिवेशनमा १,७५० जना प्रतिनिधिहरू सहभागी छन्।


