सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असंवैधानिक र प्रतिगमनकारी कदम प्रति सचेत रहन जरुरी रहेको बताएका छन् । ठुलो बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरू नै धरापमा पार्ने गरी गतिविधि भइरहेको उनको भनाइ छ ।
‘त्यस्ता असंवैधानिक र प्रतिगमनकारी कदम प्रति सबै सचेत हुनुपर्ने छ,’बिहीबार गणतन्त्र दिवसको शुभकामना सन्देश दिँदै शाहीले भने, ‘गणतन्त्रको स्थापनापश्चात् नै हामीले समावेशी, समानुपातिक व्यवस्था,धर्मनिरपेक्षता, सङ्घीयता लगायतका महत्त्वपूर्ण राजनीतिक उपलब्धिहरू प्राप्त गरेका छौँ । तिनको रक्षा गर्नुपर्ने सबैको दायित्व हो ।’
सबैखाले प्रतिगमनकारी, निरङ्कुश र असंवैधानिक दुस्प्रयासहरुका विरुद्ध खबरदारी गर्नुपर्ने पनि उनको भनाइ छ । साथै संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न उनले अपिल गरेका छन् ।


