काठमाडौं । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याए भने पौडेलले ७२५ मत पाए ।

एक हजार ५५१ मतदातामा रहेको अखिलमा एक हजार ४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो । खुला उपाध्यक्षतर्फ विकास श्रेष्ठ ७०८ मतसहित र महिलातर्फ अञ्जना सिवाकोटी ७७५ मतसहित निर्वाचित भएका छन्।
महासचिव पदमा दीपक धामी ७८५ मत प्राप्त गरी विजयी भएका छन् भने उपमहासचिवमा कमल ८१६ मत प्राप्त गरी निर्वाचित भएका छन्। त्यसैगरी, चार जना सचिव पदमा आकाश घर्ती मगर (३६० मत), रचना सापकोटा (३०४ मत), समिम बाबु खान (२७३ मत) र गोपाल नेपाल (२६८ मत) विजयी भएका छन्। केन्द्रीय आयोगतर्फ निर्वाचन आयोगको अध्यक्षमा जित प्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली विजयी भएका छन्। लेखा आयोगको अध्यक्षमा अञ्जलि लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत विजयी भएका छन्।
अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारी विजयी भए। नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे विजयी भएका छन्। जेठ २५ गतेदेखि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा जारी महाधिवेशन बिहीबार नयाँ नेतृत्वको लागि निर्वाचन सम्पन्न भएको थियो।


