२७ भदौ २०८३, शनिबार 1789272974
Banner

नागार्जुनका मेयरलाई ८ वर्ष कैद सजाय

काठमाडौँ-  नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै ८ वर्ष ३ महिनाको कैद सजाय सुनाएको छ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दफा ३(१) बमोजिम ८ वर्ष र दफा ३०(१) अनुसार थप ३ महिनाको कैद फैसला गरेको हो। अदालतले बस्नेतको २६ करोड २५ लाख रुपैयाँ बराबरको सम्पत्ति पनि जफत गर्ने आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते बस्नेतविरुद्ध मुद्दा दायर गरेको थियो। आरोप अनुसार, बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रा लीका सञ्चालक तथा अध्यक्ष राजु प्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस बुझेका थिए।

अदालतले बस्नेतलाई १ करोड ५ लाख रुपैयाँ र कँडेललाई ९ लाख २२ हजार रुपैयाँ पीडित राहत सङ्कलन कोषमा बुझाउनुपर्ने आदेश पनि दिएको छ।

यस प्रकरणमा राजु प्रसाद कँडेल पनि दोषी ठहरिएका छन्, भने बस्नेतकी श्रीमती उर्मिला बस्नेतलाई अदालतले सफाइ दिएको छ।